नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने जिम्मेवारी सहित सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने ठाकुर

२२ आश्विन २०८२, बुधबार ०९:०८

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशकमा सहसचिव गजेन्द्र ठाकुरलाई पुनः जिम्मेवारी दिएका छन्। ठाकुर यसअघि पनि यही पदमा रहेर काम गरिसकेका थिए।

अर्थमन्त्री खनालले उनलाई मुलुकलाई छिटोभन्दा छिटो ग्रे लिस्ट अर्थात् निगरानी सूचीबाट हटाउने मुख्य जिम्मेवारी दिएका छन्। अहिले नेपाल सम्पत्ति शुद्धिकरण र आतंक वित्तसम्बन्धी कमजोरीका कारण उक्त सूचीमा परेको छ।

महानिर्देशक ठाकुरका अनुसार नेपाललाई दुई वर्षभित्र ग्रे लिस्टबाट बाहिर निकाल्ने गरी कार्य गरिनेछ। यदि समयमा सुधार गर्न नसकिए नेपाल कालो सूचीमा पर्ने खतरा छ भने यसले अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने अवस्था आउनेछ।

ठाकुरले यो काम त्यति सजिलो नभएको र यसका लागि सबै निकायले मिलेर काम गर्नुपर्ने बताए। उनका अनुसार पहिलो काम जोखिम मूल्याङ्कन सुधार्नु हो भने त्यसपछि नियमावली र कानुनमा पनि आवश्यक परिमार्जन गरिनेछ। प्राविधिक तयारी लगभग पूरा भइसकेको र अब नतिजा सुधार्नुपर्ने बेला आएको उनले बताएका छन्।

उनका अनुसार पाकिस्तान करिब ११ वर्षसम्म ग्रे लिस्टमा रहँदा ठूलो आर्थिक क्षति व्यहोरेको थियो। त्यसैले नेपालका लागि पनि यो संवेदनशील विषय भएको उनले बताए।

हाल सम्पत्ति शुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभाग दुबै अर्थ मन्त्रालयको मातहतमा छन्। यसअघि सहसचिव कृष्णप्रसाद मैनालीले विभागको नेतृत्व गरेका थिए तर उनलाई एक महिनामै अन्यत्र सरुवा गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*