बैंक सरकारी स्वामित्वको संस्था हो, जसको ५१ प्रतिशत स्वामित्व नेपाल सरकारका विभिन्न मन्त्रालयहरूसँग रहेको छ भने बाँकी ४९ प्रतिशत स्वामित्व सर्वसाधारण जनतासँग छ । सन् २०२५ जुलाई मध्यसम्म बैंकको चुक्ता पूँजी १३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
कृषि विकास बैंकलाई ‘ए प्लस’ रेटिङ, पूँजी बलियो-नाफा उकासिँदा विश्वसनीयता थप मजबुत

धनगढी । केयर रेटिङ्स नेपाल लिमिटेडले कृषि विकास बैंक लिमिटेडलाई ‘केयर–एनपी ए प्लस (इज)’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्था समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षायुक्त मानिन्छन् र ती संस्थाहरूमा ऋण जोखिम न्यून हुने आकलन गरिएको छ ।
नेपाल सरकारको बहुमत स्वामित्वमा रहेको, लामो समयदेखि संचालनमा रहेको, अनुभवी व्यवस्थापन टोली र देशभरको विस्तृत भौगोलिक पहुँच बैंकको बलियो पक्षका रूपमा केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ । सन् २०२५ को जुलाई मध्यसम्म बैंकको पूँजी पर्याप्तता सन्तोषजनक रहेको र आन्तरिक रूपमा पूँजी सृजनामा स्थिर वृद्धि भएकोले बैंकले आगामी अवधिमा पनि नियामक निकायको पूँजी सम्बन्धी मापदण्ड पूरा गर्न सक्ने र ऋण विस्तारको लक्ष्य हासिल गर्न सक्षम हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०२५ को असार मसान्तसम्मको नतिजा (अडिट नभएको) अनुसार बैंकको आम्दानी प्रोफाइल सन्तोषजनक रहेको र नाफामा वर्षेनी सुधार आएको केयर रेटिङ्स नेपालले जनाएको छ । यद्यपि ब्याज आम्दानीको अनुपात अन्य वाणिज्य बैंकहरूको जस्तै सीमित देखिएको भए पनि, नाफामा सुधार मुख्यतः असुल नहुने ऋणसम्बन्धी खर्च (क्रेडिट लागत) घटेकाले सम्भव भएको उल्लेख गरिएको छ ।
बैंकको तरलता स्थिति सन्तोषजनक रहेको र ऋण पोर्टफोलियो विविध र सन्तुलित रहेकोले समग्र जोखिम नियन्त्रणमा रहेको र नियामक निकायले तोकेको प्राथमिक क्षेत्रगत ऋण प्रवाहमा पनि बैंकले पालन गरेको केयर रेटिङ्स नेपालले जनाएको छ ।
तर, बैंकको सम्पत्ति गुणस्तर अझै कमजोर रहेको र गैर–सञ्चालित कर्जाको अनुपात उच्च रहँदा यसले केही जोखिम देखाएको पनि रेटिङ प्रतिवेदनमा उल्लेख छ । यद्यपि अघिल्ला वर्षको तुलनामा गैर–सञ्चालित कर्जा र सोको रकममा सुधार आएको भए पनि, यो दर अझै पनि उच्च स्तरमै रहेको र बैंकका लागि चुनौती बनेको बताइएको छ । यससँगै बैंकको गैर–बैंकिङ सम्पत्ति पनि बढ्दो अवस्थामा रहेको उल्लेख छ ।
गत असोज २२ र २३ गतेका दिन देशभर भएका आन्दोलन र दंगाका कारण सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको र यसले व्यावसायिक प्रतिष्ठानहरूमा आर्थिक क्षति पुर्याएकोले बैंकिङ क्षेत्रमा पनि जोखिम बढ्न सक्ने चेतावनी केयर रेटिङ्स नेपालले दिएको छ । यसले आगामी समयमा बैंकहरूको सम्पत्ति गुणस्तरमा दबाब सिर्जना गर्न सक्ने र यसलाई ध्यानपूर्वक निगरानी गर्नुपर्ने जनाएको छ ।
कृषि विकास बैंकका लागि सम्पत्ति गुणस्तरमा सुधार ल्याउनु अत्यावश्यक रहेको र यही पक्षले भविष्यको नाफा र आम्दानी क्षमतालाई निर्धारण गर्ने बताइएको छ । पूँजी पर्याप्तता कायम राख्नु र नेपाल राष्ट्र बैंकले ल्याउने सम्भावित नीतिगत परिवर्तनको प्रभाव प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता बैंकका लागि प्रमुख चुनौती तथा रेटिङ संवेदनशीलता (सेन्सिटिभिटी) का रूपमा रहने उल्लेख गरिएको छ ।













