निसानले भारतमा नयाँ एसयूभी टेक्टन सार्वजनिक, आधुनिक डिजाइन र स्मार्ट सुविधासहित नेपालमा पनि आउने तयारी

२२ आश्विन २०८२, बुधबार १३:२१

काठमाडौँ । जापानी कम्पनी निसानले हालै भारतमा नयाँ कार टेक्टन घोषणा गरेको छ । हुन्डाई क्रेटाको अत्यधिक सफलताको पृष्ठभूमिमा निसानले आफ्नो नयाँ एसयूभी टेक्टनलाई सार्वजनिक गरेको हो । मंगलबार भारतमा उक्त टेक्टनको फस्ट लुक समेत सार्वजनिक गरिएको छ, जसमा कारको डिजाइन र इन्टेरियरका विशेषताहरूमा विशेष ध्यान दिइएको छ ।

सार्वजनिक फस्ट लुक अनुसार नयाँ टेक्टनको इन्टेरियरमा तीनवटा रंगको प्रयोग गरिएको ड्यासबोर्ड हुनेछ । ड्यासबोर्डको माथिल्लो भागमा सफ्टटच मेटेरियल राखिएको छ भने बाँकी भागमा ग्लसी ब्ल्याक फिनिस प्रयोग गरिएको छ । ड्यासबोर्डमा तामा रंगको स्ट्रिप इन्फोटेन्मेन्ट स्क्रीनदेखि साइड एसी भेन्टसम्म फैलिएको छ, जसले इन्टेरियरमा आकर्षक रूप दिन्छ ।

निसानले नयाँ टेक्टन एसयूभीमा आधुनिक सुविधाहरू पनि थप्ने योजना बनाएको छ । कारमा ठूलो साइजको टचस्क्रिन इन्फोटेन्मेन्ट स्क्रीन, पूर्ण डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) जस्ता सुविधा उपलब्ध हुनेछ । यी सुविधाले चालक र यात्रु दुवैको आराम र सुरक्षामा वृद्धि गर्ने कम्पनीको भनाइ छ ।

निसान इन्डियाका अनुसार नयाँ टेक्टन आगामी सन् २०२६ को जुन महिनासम्म भारतमा बिक्रीका लागि उपलब्ध हुनेछ । त्यसलगत्तै निसानले नेपालमा पनि नयाँ एसयूभीको बिक्री सुरु गर्ने योजना बनाएको छ । यसले नेपाली बजारमा पनि एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा थप्ने अनुमान गरिएको छ ।

निसानको नयाँ टेक्टनले डिजाइन, सुविधा र प्रविधिमा आधुनिकतालाई जोड दिँदै ग्राहकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । बजारमा उपलब्ध अन्य एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नका लागि कम्पनीले यसमा विशेष ध्यान दिएको देखिन्छ । नयाँ टेक्टनको मूल्य, इन्जिन भेरियन्ट र उपलब्ध रंग विकल्पबारे नजिक भविष्यमा थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।

यस नयाँ एसयूभीको आगमनले भारत र नेपाल दुवैमा एसयूभी बजारमा उत्साह थप्ने अपेक्षा गरिएको छ, जहाँ हाल हुन्डाई क्रेटा र अन्य लोकप्रिय मोडलहरूले बजारको नेतृत्व गर्दै आएका छन् । निसानले आफ्नो ब्राण्डको विश्वास र नयाँ प्रविधिको संयोजनमार्फत ग्राहकलाई आकर्षित गर्ने रणनीति अघि सारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*