पोखराको लिची बगान घोटालाः पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ आश्विन २०८२, बुधबार १५:१७

काठमाडौं । पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको हो ।  आयोगले उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । आयोगका अनुसार जग्गा हिनामिना गर्ने योजनाअन्तर्गत घुस डिल भएको अडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

सो अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । यही प्रकरणमा एमाले नेता तथा पूर्वमन्त्री बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको बताइएको छ ।

अख्तियार अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्ता र श्रेष्ठसँग ७८ लाख रुपैयाँ बिगो माग गरेको छ । साथै, मालपोत कार्यालय, कास्की पोखराका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग ५३ लाख रुपैयाँ, बिचौलिया सुजन लामासँग ७८ लाख रुपैयाँ, प्रतिवादी खेम पुनसँग २५ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

अर्का प्रतिवादी याम कुमारी गुरुङसँग ७८ लाख रुपैयाँ र प्रतिवादी तुल्सीराम बुढा मगरसँग पनि ७८ लाख रुपैयाँ बिगो माग गरि मुद्दा दायर गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*