बजार राताम्य हुँदा डुब्दै अर्बौँ लगानी, ‘तत्काल सुधारको सिटामोल कार्यदलको सुझाव कार्यान्वयन हो’

दिपक बिष्ट
२२ आश्विन २०८२, बुधबार १९:४४

धनगढी । दशैंको लामो विदा सकिएसँगै खुलेको शेयर बजार राताम्य यात्रामा अगाडि बढिरहेको छ । लगातार दुई दिनदेखिको भारी गिरावटसँगै बजार सूचक १०४ अंकले ओरालो लागेको छ । लगानीकर्ताले आशा गरेको बजार पुनरुत्थानको सट्टा बजार निरन्तर कमजोर बन्दै गएको छ, जसका कारण लगानीकर्ताको अर्बौँ रुपैयाँ बालुवामा पानी झैं बगिरहेको छ ।

बजार सूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत धराशायी बनेको छ । बजार दुई दिनमै १०४ अंकले घटेर २ हजार ५५९ अंकमा झरेको छ । कारोबारको मात्रा पनि केही घटेको देखिन्छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार कारोबार साढे ५ अर्ब रुपैयाँमा भएको छ । बजारमा आएको निरन्तर गिरावटले लगानीकर्तामा निराशा छाएको छ ।

धेरै लगानीकर्ताले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखिरहेका छन् । कोहीले बजारको अस्थिरतालाई नियामक निकायहरूको कमजोरी ठहराएका छन् भने कोहीले बजार नियन्त्रणमा ‘ठूला खेलाडी’हरूको भूमिका रहेको आरोप लगाएका छन् । बजारमा विश्वास घट्दै जाँदा साना तथा खुद्रा लगानीकर्ताहरू बढी मारमा परेका छन् ।

शेयर बजारमा देखिएको निराशाजनक अवस्थाले सरकारी निकायहरू पनि चिन्तित बनाएको छ । बजार सुधारका लागि अर्थमन्त्रालयले केही समयअघि सक्रियता देखाएको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारमा देखिएका समस्या अध्ययन गरी सुधारका उपाय सुझाउने गरी कार्यदल गठन गरेका थिए । उक्त कार्यदलको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीलाई बनाइएको थियो ।

कार्यदलले बजार सुधारका लागि विस्तृत प्रतिवेदन तयार गरी अर्थमन्त्रालयमा बुझाइसकेको छ । प्रतिवेदनमा नेप्से, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले समन्वय गरेर लिनुपर्ने नीति तथा संरचनागत उपायहरू समावेश गरिएको थियो । यसमा लगानीकर्ताको सुरक्षादेखि लिएर बजार पारदर्शिता, सूचनाको प्रवाह र नियामक कार्यशैली सुधारसम्मका सुझाव समेटिएका थिए ।

तर, कार्यदलले सिफारिस गरेको सुधारका कदमहरू हालसम्म कार्यान्वयनमा आउन नसक्दा बजारमा स्थायित्व आउन सकेको छैन । अर्थमन्त्रीले निर्देशन दिए पनि सम्बन्धित निकायहरू बीच समन्वयको अभावका कारण ठोस परिणाम देखिएको छैन । यसले बजारमा अन्योलता थपिएको छ र लगानीकर्ताको विश्वास पुनःस्थापित हुन सकेको छैन ।

लगातारको गिरावटले बजारको समग्र मनोवृत्ति नकारात्मक बन्दै गएको छ । लगानीकर्ताले अब बजार सुधारका ठोस कदमका लागि सरकार र नियामक निकायहरूबाट व्यवहारिक पहलको अपेक्षा गरेका छन् । यदि अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेबीच सहकार्य गरेर कार्यदलका सिफारिसहरू तत्काल कार्यान्वयन गरिए, बजारमा पुनः विश्वास जगाउने सम्भावना देखिन्छ । तर हालको अवस्था यथावत् रहिरहे लगानीकर्ताको भरोसा थप कमजोर हुँदै जाने स्पष्ट संकेत देखा परेको छ ।

शेयर बजारमा राजनीति अस्थिरताका सँगसँगै पुँजी बजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा बजारमा गिरावट देखिएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘राजनीति अस्थिरता त बजारमा परेको नै छ । त्यसको साथै बजार सुधारका लागि कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । अर्थमन्त्रीले निर्देशन दिएको भनेका छन् तर कहा पठायो के कसरी निर्देशन दियो केहि थाहा भएन । राष्ट बैंकले गर्नुपर्ने काम पनि भएको देखिएन । उता, बोर्ड आफ्नै भाडभैलोमा छ । जस कारण यो बीचमा लगानीकर्ता अलपत्र भए ।’

बजार राताम्य हुँदा लगानीकर्ताले अर्बौ लगानी गुमाएको हुँदा यसको जिम्मेवारी लिने नियामक निकाय मुकदर्शक भएको रौनियारको भनाइ छ । राजनीति अस्थिरताको चपेटामा परेका लगानीकर्ताका लागि सरकारले तत्कालै सुधारका कार्य गर्नुपर्नेमा निर्देशनमै सिमित भएको उनले बताए । ‘जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितीले बजारको लय बिग्रिएको छ । यो बेला सरकारले कार्यदलले दिएको सुझाव तत्काल नै कार्यान्वयनमा लैजानु पर्छ । २५ करोडको सीमा तत्काल हटाउनु पर्छ । बैंकसँग फालाफाल पैसा छ । त्यो सीमाको औचित्य नै छैन ।’ रौनियारले भने, ‘बजारमा तत्काल सुधारका लागि कार्यदलको सुझाव कार्यान्वयनमा जानु पर्ने छ । बजार राताम्य हुँदा लगानीकर्ताको अर्बौ लगानी डुबि रहेको छ ।

पुँजी बजारको सुधार र लगानीकर्ताको हितका लागि कदम चाल्नु पर्ने धितोपत्र बोर्ड आफै आन्दोलनमा होमिदा लगानीकर्ताको मनोबल थप कमजोर रहेको रौनियारको तर्क छ । ‘धितोपत्र बोर्ड बजार सुधार र लगानीकर्ताका हितका लागि काम गर्ने निकाय हो । तर, आफ्नै आन्दोलनमा छन् । लडाई गर्नुपर्छ भने टुडिखेलमा गएर लडाई गरे हुन्छ । बोर्ड लडाई गर्ने थलो होइन । उनीहरुको के मिलेन कसो मिलेन त्यो लगानीकर्ताको विषय होइन । आफ्नो काम त गर्नु परो नि । तर, लगानीकर्ताको हितका लागि काम गर्नु पर्ने संस्थाले एकदमै नराम्रो काम गर्यो । जस कारण लगानीकर्ताको लगानी डुब्दै गएको छ । अर्बौको लगानी गुम्यो । नियामक निकायले लगानीकर्ताका हितका लागि काम परेन’ रौनियारले भने ।

दशैंको प्रभाव, ब्याज तिर्नुपर्ने र जेन जी आन्दोलनले गर्दा मनोबल कमजोर हुँदा मार्केटमा भारी गिरावट आएको लगानीकर्ता तुलसीराम ढकालले बताए । उनले भने, ‘जेन जी आन्दोलनले भएको राजनीतिक अस्थिरताको प्रभाव समेत शेयर बजारमा परेको देखिएको छ । साथै, चाडपर्वको बेला छ लगानीकर्ता शेयर बिक्री गरेर पैसाको जोहो गर्ने तिर लागेका पछि छन् । अनि यसबीच ब्याज तिर्नु पर्ने बेला छ । सोहि कारण बजार राताम्य भइरहेको छ ।’

पुँजी बजार सुधारका लागि कार्यदलले पेश गरेको सुझाव कार्यान्वयनका लागि प्रतिक्षामा बसेको ढकालको तर्क छ । ‘बजार सुधार कार्यदलले पेश गरेको सुझाव कार्यान्वयनको चरणमा रहेको छ । सोहि प्रतिक्षामा समेत लगानीकर्ता रहेको पाइन्छ’ उनले भने ।

दशैं सकिएपनि तिहार र छठका लागि लगानीकर्ता पैसा जोहो गर्ने तिर लाग्दा बजार सुस्ताएको ढकालको मत छ । उनले भने ‘दशैं सकिएपनि तिहार र छठका लागि पैसा जोहो गर्नु पर्ने बेला समेत यो हो ।’

नयाँ सरकारमा विज्ञ ब्यक्ति आएपनि राजनीति सहमती अझै बनि नसक्दा पनि लगानीकर्ताको मनोबल खुम्चिएको उनले बताए । ‘नयाँ सरकार बनेको छ । मन्त्री सम्बन्धीत क्षेत्रका विज्ञ ब्यक्ति आएका छन् । तर, देशलाई र अर्थमन्त्रीलाई अघि लैजान राजनीतिक सहमति चाहिन्छ । त्यो भइनसकेको कारणले पनि बजारमा लगानीकर्ताको मनोबल कमजोर छ’ ढकालले भने, ‘तिहारपछि बजारमा सुधार आउने आशा गर्ने सकिन्छ । सुधार आउनु नै पर्छ । नत्र देशको अर्थतन्त्र खतम हुन्छ । तत्काललाई कार्यदलले पठाएको सुझाव कार्यान्वयन हुनुपर्छ । अहिले एक सिटामोलले ठिक हुन्छ भने किन चार सिटामोल पछि किन खाने । त्यस कारणले त्यो सुझाव तत्काल कार्यान्वयनमा जानु पर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*