पूर्व पदाधिकारी र संसदका पदाधिकारीहरूले प्रयोग गर्दै आएका २१ वटा गाडी फिर्ता

काठमाडौं । संघीय संसद सचिवालयमा पूर्व पदाधिकारी र संसदका पदाधिकारीहरूले प्रयोग गर्दै आएका २१ वटा गाडी फिर्ता भएका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पूर्वसभामुख तारानाथ रानाभाट बाहेक अन्य पूर्वसभामुखहरूले प्रयोग गरिरहेका गाडी फिर्ता भइसकेका छन्।
पूर्व सभामुख रानाभाटले छिट्टै गाडी फिर्ता गर्ने जानकारी दिएको गिरीले बताए।
संसद सचिवालयले पूर्व सभामुखहरूलाई मन्त्रिपरिषद्को निर्णयका आधारमा गाडी सुविधा दिँदै आएको थियो। राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने मन्त्रिपरिषद्को निर्णय बेगर यस्तो सुविधा लिँदै आएका थिए।
संसद सचिवालयले प्रतिनिधि सभाका समिति सभापतिहरू र दलका प्रमुख सचेतकरसचेतकलाई दिएको गाडी पनि फिर्ता आएको जनाएको छ।
‘संसदका १० वटा विषयगत समितिका सभापतिहरूको गाडी फिर्ता भएको छ,’ गिरीले भने, ‘दुई वटा संयुक्त समितिका सभापतिहरूले पनि फिर्ता गर्नुभएको छ।’
राष्ट्रिय सभाका सांसद समेत सदस्य रहने संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त र नीति कार्यान्वयन अनुगमन समितिमा प्रतिनिधि सभाका सांसद समिति सभापति थिए।
त्यस्तै, प्रमुख दलका सचेतकहरूले प्रयोग गरिरहेको ७ वटा गाडीमध्ये ५ वटा फिर्ता भएको गिरीले बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको गाडी जलेको छ,’ गिरीले भने, ‘बाँकी सबैले गाडी फिर्ता गर्नुभएको छ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सुविधा पाउँदै आएका पूर्व पदाधिकारीहरूको सुविधा खारेज गर्ने निर्णय गरेको थियो। सांसदहरूको स्वकीय सचिव नराख्नेदेखि पूर्व पदाधिकारीहरूको सवारी सुविधा हटाउने निर्णय सरकारले गरेको थियो।













