दोलखामा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
२३ आश्विन २०८२, बिहीबार १२:०१

काठमाडौं । दालखाको बिगु गाउँपालिका वडा नम्बर १ मा रहेको लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमै फसेका ४ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ।
रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी कुल ४ जना लप्ची गुम्बाबाट फर्कने क्रममा बाटो अवरुद्ध बनेपछि फसेका थिए। फर्कन नसकेपछि उनीहरू सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाइड्रोपावरमा बसिरहेका थिए।
गुम्बाबाट असोज २१ गते काठमाडौंतर्फ फर्किने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो खसेपछि अलपत्र परेका हुन्।
उनीहरूलाई आज बिहान करीब १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएर गएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर काठमाडौंतर्फ पठाइदिएको छ।













