जेन–जी शहीद परिवारद्वारा तीन वटा मन्त्रालयको माग, नपाए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं– जेन–जी शहीद परिवारले सरकार समक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् । बिहिबार काठमाडौंमा जेन–जी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताएका हुन् ।
शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरे । उनले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका छन्।
सो जेन–जी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।
समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।













