नैतिकता कुल्चदै नेपाल रिका सिईओ सुरेन्द्र थापा, मुन्टो निहुराएर कतिदिन जागिर खाने ?

२३ आश्विन २०८२, बिहीबार २२:३७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले राजिनामा गर्ने घोषणा गरेर बाहिरिएर पनि अहिले नैतिकता कुल्चदै पुनः आफूलाई सिईओ भन्दै कार्यालय गएर काम गरिरहेका छन् । थापाको राजिनामा काण्डबारे दशैंभरि बीमा क्षेत्रमा चर्चा र छलफलको बिषय बन्न पुगेको थियो ।

माओवादी कोटामा तत्कालिन प्रधानमन्त्री प्रचण्डको पालामा नेपाल पुनर्बीमा कम्पनीमा सिईओ बन्न पुगेका सुरेन्द्र थापाले गत असोज १ गतेको सञ्चालक समितिको बैठकमा आफूले आजदेखि काम नगर्ने र राजिनामा गरेको स्वघोषणा गरेर बाहिरिएका थिए । राजिनामा घोषणा त गरे, तर लिखित रुपमा कही कतै बुझाएका थिएनन् । तर, असोज ८ गते जिल्ला प्रहरी कार्यालयबाट एकाएक सञ्चालक समितिका अध्यक्ष र कर्मचारी युनियनका पदाधिकारीहरुलाई टेलिफोन आयो, सिईओ सुरेन्द्र थापाले ज्यान असुरक्षित रहेको भन्दै लिखित उजुरी दर्ता गरेकोले छलफलमा उपस्थित भईदिन प्रहरीबाट अनुरोध भयो ।

प्रहरीले नै फोन गरेपछि युनियनका पदाधिकारीहरु र सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पौडेल आफै महानगरीय प्रहरी परिसर (जिल्ला प्रहरी कार्यालय, काठमाडौं) मा पुगे । त्यहाँ सिईओ सुरेन्द्र थापा ज्यान असुरक्षित भएको भन्दै निवदेन दिएर कुरिरहेका थिए । असोज १ गतेको सञ्चालक समितिको बैठकमा सामान्य विवाद भएपछि थापाले राजिनामा गरेको भन्दै बैठककै बीचबाट उठेर बाहिरिएका थिए । उनलाई कसैले धम्क्याएको थिएन, बरु आफैले राजिनामा गर्ने बताएर भागेका थिए ।

कम्पनी छोडेर भागेका सिईओले कर्मचारी सञ्चालक समितिले राजिनामा दिन दवाव दिएको भन्दै प्रहरीमा लिखित निवेदन दर्ता गराएको खवर सुनेर सबै छक्क परेका थिए । त्यसपछि छलफल भएर सहमति गर्ने बिन्दुमा सबैले हस्ताक्षर गरेका थिए ।

आफैले राजिनामा घोषणा गरेर चार दिनसम्म कार्यालयमा उपस्थित भएका थिएनन् । सिईओ थापाले राजिनामा दिने घोषणा गरेपछि असोज ७ गतेसम्म कुनै सूचना समेत नदिई बिदा समेत स्वीकृत नगरी अनुपस्थित भएका थिए ।

आफ्नै कर्मचारी र सञ्चालक समितिका विरुद्धमा प्रहरीमा लिखित उजुरी दर्ता गराएका थापाले प्रहरी कार्यालयमा दिनभर बसेर सहमति गरेको भन्दै राजिनामा नमाग्ने लिखित कागजमा हस्ताक्षर गर्न सञ्चालक समितिका अध्यक्ष र कर्मचारीहरुलाई बाध्य बनाएको खुलेको छ । अर्थात सिईओ थापाले राजिनामा गर्छु भनिसकेको बिषयबाट जोगिन र फेस सेभिङ गर्न प्रहरीमा ज्यान असुरक्षित रहेको भन्दै फर्जी निवेदन दर्ता गराएर छलफल गरेको भन्दै सहमति पत्रमा हस्ताक्षर गराउन लगाएका थिए ।

प्रहरीमा राजिनामा नमाग्ने शर्तनामा हस्ताक्षर गराउन लगाएका थापा अहिले नेपाल पुनर्बीमा कम्पनीको सिईओ भन्दै कार्यालयमा उपस्थित भएर काम गरिरहेका छन् । आफ्नै कम्पनीका कर्मचारी र सञ्चालक समितिका विरुद्धमा प्रहरीमा ज्यानै जानसक्ने गरी धम्की दिएको भन्दै उजुरी दिएका थापाले अहिले तिनै कर्मचारी र सञ्चालक समितिमा कुन नैतिकताको आधारमा मुख देखाएर काम गरिरहेका छन् ? बीमा क्षेत्रमा प्रश्न उठिरहेको छ ।

थापाले प्रहरी सामू आफ्नै कम्पनीमा कार्यरत कर्मचारीबाट असुरक्षित भएको भन्दै उजुरी दिएपछि कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल, डेपुटी सिईओ तथा कर्मचारी युनियनका पदाधिकारीहरुको नामै लिएर बोलाएर वार्ता गराउन माग गरेका थिए । प्रहरीले वातावरण तयार गरी छलफल गराएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले समेत पुष्टि गरिसकेको छ ।

सो घटनापछि सिईओ थापा अहिले दैनिक रुपमा लुसुक्क कार्यालय आएर काम गर्ने गरिहेका छन् । स्रोतका अनुसार पछिल्लो समय सिईओ थापाले नेपाल पुनर्बीमा कम्पनीमा शिर ठाडो पारेर भित्र प्रवेश गर्न अप्ठेरो मानिरहेका छन् । नैतिकता कुल्चने काम गरेका सिईओ थापाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा शिर निहुराएर कति दिन जागिर खान थापाथली गइरहन्छन् ? भन्ने प्रश्न उठेको छ ।

उता, नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापासँग नैतिकता बिर्सेर जागिर किन खाइरहेको भनेर जिज्ञाशा राख्न खोज्दा बीमापोष्टको सम्पर्कमा आउन चाहेनन् ।

 

#beema post

#beemapost

#Nepal Reinsurance company ltd.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*