झुटा शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागीर, बीमाको रकम उपलब्ध गराउने शिक्षा इकाइ रोल्पाको पत्र विवादमा!

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेकी एक शिक्षिकालाई जीवन बीमाको सचित रकम उपलब्ध गराउन सिफारिस गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले नागरिक लगानी कोषलाई पत्र पठाउँदै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी शिक्षिका नयन कुमारी शाहीलाई बीमाको रकम उपलब्ध गराउन सिफारिस गरेको हो।
रोल्पा जिल्लाको घोडागाउँस्थित श्री रामेश्वरी माध्यमिक विद्यालयमा कार्यरत रहेकी शाहीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक सेवामा प्रवेश गरेकी थिइन्। सोही कारण उनीविरुद्ध २०७१ साउन २१ गतेदेखि कारबाही प्रक्रिया अघि बढाइएको थियो।
साविक जिल्ला शिक्षा कार्यालय रोल्पाले २०७३ साउन २१ गते नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगमा उनलाई स्वतः निलम्बन गरेको थियो। त्यसपछि विशेष अदालत काठमाडौंले २०७३ असोज ४ गते फैसलासँगै उनलाई दोषी ठहर गर्दै भ्रष्टाचार गरेको प्रमाणित गरेको थियो। अदालतको निर्णयपछि शाही शिक्षक सेवाबाट स्वतः बर्खास्त भएकी थिइन्।
त्यसयता शिक्षक सेवामा नरहेकी शाहीका नाममा संचित जीवन बीमाको रकम उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका प्रमुख लालबहादुर घर्तीमगरले नागरिक लगानी कोष नयाँ बानेश्वर काठमाडौंलाई पत्राचार गरेका हुन्। पत्रमा भनिएको छ, ‘नयन कुमारी शाही (संकेत नं. १००८५९) ले भ्रष्टाचार गरेको पाइएकाले मिति २०७३/०४/२१ गते स्वतः निलम्बन भएको र विशेष अदालतको फैसलापछि शिक्षक सेवामा नरहेको हुँदा निजले पाउनुपर्ने जीवन बीमाको सचित रकम (कोष परिचय पत्र नं. ७००३०७२९) उपलब्ध गराइदिनु हुन सिफारिस गरिएको छ।’
भ्रष्टाचार जस्तो अपराधमा दोषी ठहर भई सेवाबाट हटाइएकालाई बीमा रकम उपलब्ध गराउने सिफारिसले प्रश्न उठाएको छ । सिफारिस नैतिक र कानुनी रूपमा कति उपयुक्त हो? भन्ने चर्चा सुरु भएको हो । झुटा कागजात पेश गरि सरकारी सेवामा प्रवेश गर्नेलाई सम्पूर्ण रकम फिर्ता गर्नुपर्नेमा उल्टै बीमा रकम उपलब्ध गराउन गरेको सिफारिसले नैतिक प्रश्न उठाएको छ।













