नेपाली बजारमा हुलास स्टीलको दबदबा, वर्षदिनमा १२ अर्ब ७३ करोडको व्यापार

धनगढी । हुलास स्टील इण्डस्ट्रीजले वर्षदिनको अवधिमा पौन १२ वर्षको व्यापार गर्ने सफल भएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो ।
कम्पनीको गरेको व्यापार अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा २ करोड २० लाख रुपैयाँले बढी हो । सो आर्थिक वर्षमा कम्पनीले १२ अर्ब ७१ करोड १२ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले मुख्यतः घरेलु बजारमै ध्यान केन्द्रित गर्दै उत्पादन र बिक्री विस्तार गरिरहेको छ । नेपालको निर्माण उद्योगमा आयात प्रतिस्पर्धा, कच्चा पदार्थ मूल्यवृद्धि र परिवहन लागतजस्ता चुनौतीबीच पनि हुलासले आम्दानी सुधार तिर गइरहेको छ । कम्पनीको बजार पहुँच, ब्रान्ड सुदृढता र ग्राहक विश्वासले स्टीलको माग बढ्दो क्रममा देखिएको हो ।
कोरुगेटेड सिट (तरङ्गित इस्पातका पाना) ले २०८१।०८२ मा कुल आम्दानीमा करिब ५४ प्रतिशत योगदान दिएको छ । पाइप उत्पादनले करिब १९ प्रतिशत राजस्व योगदान पु¥याएको छ भने एल्युमिनियमका वस्तुहरूबाट झण्डै ९ प्रतिशत आम्दानी आएको छ।
सन् १९८१ मा निजी कम्पनीको रूपमा स्थापना भई सन् २००६ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हुलास अहिले पनि इस्पात उत्पादनमा अग्रणी नामको रूपमा चिनिन्छ । हाल कम्पनीको करिब ५० प्रतिशत स्वामित्व चान्र्ली डेभलपमेन्ट कम्पनी लिमिटेडसँग छ। बाँकी स्वामित्व गोल्छा परिवारका सदस्यहरू — मिसेस जयश्री गोल्छा (करिब २१%), श्री हिमांशु गोल्छा (६%), श्री हितेश गोल्छा (६%) र हुलास मेटल क्राफ्ट (६%) — लगायत अन्य सम्बन्धित संस्थाहरूसँग रहेको छ ।
हुलास स्टिल्स एक द्वितीयक इस्पात उत्पादक कम्पनी हो, जसले ग्याल्भेनाइज्ड, रंगीन र कोरुगेटेड इस्पातका पाना, पाइप, एल्युमिनियम संरचना, वेल्डेड संरचना र पाइप फिटिङहरू उत्पादन गर्छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा भारतका प्राथमिक इस्पात उद्योगहरूबाट हॉट–रोल्ड (एचआर) इस्पात पाना आयात गर्छ। यिनलाई कम्पनीकै कोल्ड–रोलिङ मिलमा प्रशोधन गरी कोल्ड–रोल्ड (सीआर) सिट बनाइन्छ ।
हुलासको वार्षिक उत्पादन क्षमता करिब ४ लाख ८१ हजार ७६२ मेट्रिक टन रहेको छ । यसमध्ये करिब ५० हजार मेट्रिक टन पाइप (कालो र ग्याल्भेनाइज्ड दुवै), ३ लाख ९४ हजार ७०० मेट्रिक टन सिट (सादा, जीपी, जीसीआई) र बाँकी एल्युमिनियम तथा वेल्डेड संरचना उत्पादनमा समावेश छन् ।
यता, कम्पनीको सञ्चालन नाफा अनुपातले २०२१ मा १९.५ प्रतिशत थियो -जुन उच्च प्रदर्शन मानिन्छ । २०२५ मा यो घटेर ९.३ प्रतिशत पुगेको छ ।
हुलासले २०२० मा आफ्नो पूँजीको तुलनामा १.४ गुणा ऋण लिएको थियो। तर २०२५ मा यो घटेर ०.४ गुणा मात्र भएको छ। २०२० मा कम्पनीको बाह्य दायित्व स्व–पूँजीको १.७ गुणा थियो, तर अहिले यो ०.६ गुणामा झरेको छ।
इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण रेटिङलाई उन्नत गर्दै उच्च स्तरमा पु-याइएको छ। यस क्रममा कम्पनीको अल्पकालीन ऋण रेटिङ कायम राखिएको छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा १,३७३.३ मिलियन रुपैयाँ र अल्पकालीन ऋण सीमा ८,२८५.५ मिलियन रुपैयाँ कायम गरिएको छ।
कुल ऋण रकम अहिले ९,६५८.८ मिलियन रुपैयाँ पुगेको छ। मूल्याङ्कन अनुसार, हुलासको वित्तीय सुदृढता, व्यवस्थित व्यवस्थापन, बजारमा स्थिर उपस्थिति र निरन्तर व्यवसाय प्रदर्शनले दीर्घकालीन ऋण रेटिङ उन्नत गर्न सहयोग पु-याएको हो।













