एमालेले भोलि काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीमा रोक

२४ आश्विन २०८२, शुक्रबार १४:००

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकटको युवा संघले असोज २५ गते शनिबारका दिन आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली र सभामा रोक लगाउने निर्णय गरेको छ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने भन्दै कुनै पनि व्यक्ति वा समूहलाई र्याली, जुलुस, धर्ना, सभा वा प्रदर्शन गर्न अनुमति नदिइने जनाएको हो।

सूचनामा भनिएको छ, ‘गत भाद्र २३ गतेको जेन जी आन्दोलन पछिका दिनमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाहरू भएको सबैमा विदितै छ। शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आवश्यक कदमहरू चालिएका छन्।’

जिल्ला प्रशासन कार्यालयका अनुसार हाल शान्ति सुरक्षाको अवस्था स्थिर बनाउने प्रयास भइरहेका बेला विभिन्न समूहबाट हुने भनिएका यस्ता गतिविधिले पुनः सुरक्षा चुनौती निम्त्याउन सक्ने भएकाले प्रशासनले पूर्वस्वीकृति विना कुनै पनि कार्यक्रम गर्न नपाउने व्यवस्था गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) तथा प्रहरी ऐन २०१२ को दफा १९ अनुसार यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*