जेन–जी आन्दोलनको एक अर्ब ५८ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरको सर्वाधिक, द ओरियण्टल ५ लाखमै सीमित

२४ आश्विन २०८२, शुक्रबार १५:२८

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २३ गतेसम्ममा कुल ३०९९ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसमा भुक्तानी भएको र अग्रिम भुक्तानी गरिएको रकम समेत जोडिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ६१ करोड ४४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९१ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित ५९ करोड ४४ लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेको छ ।

सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ९७ वटा दावी बापत पाँच अर्ब २४ करोड ४७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २३ गतेसम्मको अवधिमा पाँच लाख ७० हजार रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ ।

साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २०४ वटा दावी बापत दुई अर्ब ७५ करोड ९७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २३ गते अर्थात आजसम्म ३० करोड ४३ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्समा ४३१ वटा दावी बापत कुल दुई अर्ब ४० करोड ८६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

यसैगरी, जेन–जी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३३४ वटा दावी बापत एक अर्ब ६० करोड ४८ लाख रुपैयाँको कुल बीमा दावी परेको छ । कम्पनीले हालसम्म ८६ लाख रुपैयाँ भुक्तानी वितरण गरिसकेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेको इन्स्योरेन्समा २५६ वटा दावी बापत एक अर्ब १५ करोड ४१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले सात करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा २८९ वटा दावी बापत एक अर्ब चार करोड ४५ लाख रुपैयाँको बीमा दावी परेको छ । जसमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरिसकेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआईसी इन्स्योरेन्सले दुई लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ७१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले चार करोड ७५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले नौ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*