जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी

काठमाडौं । भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको एक महीना पुग्दा नपुग्दै भ्रष्टहरू फेरि घुसखोरी तर्फै अग्रसर हुन थालेका छन्।
भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जेनजी आन्दोलनको एक महीनाभित्रै घुस रकम लेनदेन बापत ५ लाख ५० हजार रुपैयाँ बरामद भएको छ भने ३ जना पक्राउ परेका छन्।
गत भदौ २३ गते जेनजी पुस्ताका युवाहरू देशमा व्याप्त भ्रष्टाचारको विरुद्ध आन्दोलनमा उत्रिएका थिए। त्यस दिन सरकारले युवाहरूमाथि व्यापक बल प्रयोग गरेपछि भोलिपल्ट जनआक्रोश सडकमा पोखिएको थियो। त्यस आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालिदिएको थियो।
अख्तियारका अनुसार गत असोज २ गते दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की १ लाख रुपैयाँ घुस सहित पक्राउ परेका थिए। उनले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात समातिएका थिए। उनलाई अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएर गएको टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित मंगलगढी चोकबाट घुस रकम सहित नियन्त्रणमा लिएको थियो।
त्यसैगरी भदौ २४ गते रौतहट जिल्लाको धरहरीस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद ४ लाख ५० हजार घुस लिंदै गर्दा बिचौलिया सहित समातिएका छन्।
अख्तियारका अनुसार विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूवर्क दर्खास्त आवेदन दिएकोमा प्रधानाध्यापक संजय प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत ४ लाख ५० हजार रुपैयाँ घुस माग्न लगाएका थिए।
बिचौलिया साहकानुले सेवाग्राहीबाट ४ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टंगालबाट खटिएर गएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको अदालत रोडस्थित एक होटलमा घुस लेनदेन भएको थियो। प्रधानाध्यापकले पठाएको बिचौलिया घुस सहित पक्राउ परेपछि अख्तियारले प्रधानाध्यापकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। यस विषयमा अख्तियारले थप अनुसन्धान गरिरहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
भ्रष्टाचार विरुद्ध सडकमा उत्रिँदा ६ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएको महीना दिनभित्रै कर्मचारीहरू घुस सहित समातिन थालेपछि जेनजीहरूले आक्रोश र चिन्ता व्यक्त गरिरहेका छन्।













