नीति सकारात्मक भएपनि लगानीकर्तामा अन्यौल कायमै, साताको शेयर बजारमा चमक कि निराशा ?

२६ आश्विन २०८२, आईतवार ०९:३०

धनगढी । गत साता शेयर बजारमा निरन्तर गिरावट देखिँदै नेप्से परिसूचक तीन प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से गत साता ३.०५ प्रतिशत अर्थात् ८१.३३ अंकले घट्दै २५८२.१८ विन्दुमा झरेको हो। तीन कारोबार दिन खुलेको बजारमध्ये एक दिन मात्रै नेप्से हरियो बनेको थियो भने बाँकी दुई दिन बजार घट्दै बन्द भएको थियो।

साताको अन्तिम कारोबार दिन नेप्सेले ‘इन्भर्टेड ह्यामर’ मैनबत्ती बनाएको छ जुन सामान्यतया बजार उल्टिने संकेत दिने बुलिश रिभर्सल मैनबत्ती हो। यसले आगामी दिनमा बजारले केही सुधार देखाउने सम्भावना जनाए पनि साप्ताहिक आधारमा भने बजारले ‘बियरिश’ मैनबत्ती बनाएको छ जसले बिक्रीकर्ता हाबी भएको स्पष्ट संकेत गर्दछ।

अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेपछि पुँजी बजारका सुधारका लागि विभिन्न पहलहरू अघि बढाइरहेका छन्। उनी नियुक्त भएपछि बजारमा सकारात्मक धारणा देखिए पनि व्यवहारमा त्यसको प्रभाव अझै पर्याप्त रूपमा देखिन सकेको छैन। अन्तरिम सरकारले मुख्य उद्देश्य निर्वाचन सम्पन्न गराउने भनेर जनाइरहेको बेला, सो निर्वाचन नै समयमा नहुने आशंकाले बजारमा प्यानिक वातावरण सिर्जना भएको विश्लेषण गरिन्छ।

खनाल नेतृत्वमा गठित पुँजी बजार सुधार कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। सो क्रममा सरकारले र नेपाल राष्ट्र बैंकले पनि केही महत्त्वपूर्ण नीतिगत परिवर्तन गरेका छन्। राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा तोकिएको २५ करोडको सीमा हटाएको छ। यसअघि एक बैंकबाट अधिकतम ४ करोड र सबै बैंकबाट १२ करोडसम्म कर्जा लिन सकिने व्यवस्था रहेकोमा, पछि संस्थागत लगानीकर्ताका लागि सीमा बढाउँदै व्यक्तिगत तर्फ पनि २५ करोडसम्मको व्यवस्था गरिएको थियो। बुधबार राष्ट्र बैंकले सो सीमा पूर्णरूपमा खारेज गर्दै लगानीकर्ताहरूलाई थप सहजता दिएको हो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले पनि शेयर कारोबारमा सहभागी हुन सक्ने व्यवस्थामा लचकता ल्याइएको छ। पहिले १ वर्ष वा सोभन्दा बढी अवधिका लागि मात्रै शेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्था थियो। अब भने बैंकहरूले ६ महिना वा सोभन्दा बढी अवधिका लागि पनि दोस्रो बजारमा लगानी गर्न सक्ने भएका छन्। साथै, ६ महिनापछि बैंकहरूले लगानी गरेको सेयर एकैपटक बिक्री गर्न पाउने भएका छन्। यसअघि १ वर्ष पुगेपछि पनि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बिक्री गर्न पाउने प्रावधानले बैंकहरू निष्क्रिय बन्नुपरेको थियो। यो प्रावधान हटेपछि बैंकहरूले आफ्नो तरलता व्यवस्थापनका क्रममा शेयर बजारमा सक्रिय हुन पाउने भएका छन्। लगानीकर्ताहरूले यसलाई पुँजी बजारका लागि सकारात्मक संकेतका रूपमा लिएका छन्। यही कारण बिहीबार बजार खुलेको केही मिनेटमै नेप्से परिसूचकमा तीव्र सुधार देखिँदै सकारात्मक सर्किट पनि लागेको थियो।

तर, बजारमा तत्काल ठूलो सुधार आउने अवस्था भने देखिँदैन। विश्लेषक तुलसीराम ढकालका अनुसार तिहार नजिकिँदै गर्दा लगानीकर्ताहरू ब्याज तिर्न र चाडपर्वका खर्चका लागि सेयर बिक्रीमा लागेका छन्। उनले भने, ‘जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक अस्थिरताले बजारको मनोबल कमजोर बनाएको छ। त्यसमा चाडपर्व नजिकिँदा लगानीकर्ताले पैसाको जोहोका लागि सेयर बिक्री गर्न थालेका छन्, जसले बजारलाई बिहिबार दबाबमा राखेको छ।’

राजनीतिक अस्थिरताका साथै ठूला दलहरूबीचको विवादले पनि लगानीकर्ताहरूको मनोबल कमजोर बनाइरहेको छ। अन्तिम सरकारका विरुद्ध कांग्रेस र एमाले अदालत जान सक्ने संकेत देखिँदै गर्दा बजारमा थप अनिश्चितता बढेको छ। यस्तो अवस्थामा नियामक निकाय र नीतिगत सुधारहरू सकारात्मक भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ।

हाल बैंकहरूको लगानी क्षमता बढाउने, सेयर धितो कर्जामा सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने निर्णयहरू दीर्घकालीन रूपमा लाभदायक हुने देखिन्छ। तर, निकट भविष्यमै ब्याज तिर्नुपर्ने दबाब, चाडपर्वका खर्च र राजनीतिक अस्थिरताले बजारमा सुधारको गति रोकिन सक्ने अनुमान गरिएको छ।

सकारात्मक नीतिहरूले लगानीकर्ताको मनोबल पुनः उठाउन सक्छन् भन्ने विश्वास राखे पनि तत्कालका लागि बजारमा सावधानी अपनाउनुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन्। आर्थिक, मौसमी र राजनीतिक दबाबबीच बजारले आगामी साता कस्तो दिशा लिन्छ भन्नेमा सबैको नजर केन्द्रित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*