राष्ट्र बैंकको निर्णयपछि ‘प्रभु पे’ बन्द, लाखौं ग्राहक अन्यौलमा

२६ आश्विन २०८२, आईतवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई दिइएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगर्दा कम्पनीको डिजिटल वालेट सेवा ‘प्रभु पे’ बन्द हुने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग बालुवाटारले जारी गरेको सूचनामा कम्पनीले मिति २०७६।११।११ मा प्राप्त अनुमतिपत्र दफा १३ (४) बमोजिम नवीकरण गराउन नसकेको कारण यो निर्णय गरिएको जनाएको हो।

सन् २०१७ मा स्थापना गरिएको प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले मोबाइलबाट भुक्तानी, रकम पठाउने र कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको थियो। कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७६ फागुन ११ गते भुक्तानी सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो।

तर पछिल्ला वर्षमा प्रतिस्पर्धात्मक बजारमा प्रभु टेक्नोलोजीको व्यापार पर्याप्त वृद्धि हुन नसक्दा कम्पनी लगातार घाटामा पुगेको थियो। राष्ट्र बैंकले वार्षिक अनुमतिपत्र नवीकरणका लागि आवश्यक दस्तावेज, पूँजी संरचना, अडिट प्रतिवेदन र प्रविधिक सुरक्षा मापदण्ड पूरा नभएको भन्दै लाइसेन्स नवीकरण नगर्ने निर्णय गरेको छ।

गुगल प्ले स्टोरका तथ्यांकअनुसार, प्रभु पे एप्स पाँच लाख पटक डाउनलोड भइसकेको छ। यति धेरै डाउनलोडको बाबजुद पनि कम्पनीले प्रयोगकर्ता आधार बढाउन र कारोबार सञ्चालन खर्च धान्न नसक्दा वालेट सेवा रोकिएको हो।

ग्राहकले प्रयोग गरेको भुक्तानी उपकरणमा बाँकी लेनदेन भए त्यसको लागि कम्पनीसँग सम्पर्क गर्न ३० दिनको समय दिइएको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । तर वालेटमा रहेका साधारण ग्राहकको पैसा के हुने भन्नेबारे स्पष्ट जानकारी प्रदान गरिएको छैन।

नेपाल राष्ट्र बैंकको नीति अनुसार, भुक्तानी सेवा प्रदायकले वार्षिक रूपमा अनुमतिपत्र नवीकरण गराउनुपर्नेछ। नवीकरणका लागि कम्पनीले वित्तीय स्थिति, पूँजी संरचना, अडिट प्रतिवेदन र प्रविधिक सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*