अपर तामाकोशी हाइड्रोपावरको ऋण सेवा ढिलाइपछि रेटिङ ‘डी’ मा घट्यो, बाढीले करोडौं राजस्वमा असर

२६ आश्विन २०८२, आईतवार १२:०९

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको ऋण सेवा ढिला भएको कारण कम्पनीको जारीकर्ता रेटिङ इक्रा नेपालले डी मा घटाएको छ । यसअघि कम्पनीको रेटिङ डबल बी राखिएको थियो। यससँगै कम्पनी ‘विकासशील अवस्था’को अन्तर्गत रहेको वाच सूचीबाट पनि हटाइएको छ।

कम्पनीले ऋणको भुक्तानीमा ३० दिनभन्दा बढी ढिला गरेको रिपोर्ट अनुसार रेटिङ घटाइएको हो।

कम्पनीले मुख्य उत्पादन समयमै सञ्चालन गर्न नसक्दा नाफा र क्षतिपूर्ति प्राप्त गर्न बाँकी रहेको र सुख्खा सिजनमा उत्पादन कमजोर भएपछि नगद प्रवाहमा दबाब परेको थियो। यसै कारण इक्रा नेपालले कम्पनीको ऋण सेवा ढिलाइको आधारमा रेटिङ घटाउने निर्णय गरेको हो। आगामी दिनमा समयमै ऋण भुक्तानी गर्ने ट्र्याक रेकर्ड नै कम्पनीको रेटिङ संवेदनशीलताको प्रमुख आधार हुनेछ।

यो आयोजना नेपालको सबैभन्दा ठूलो सञ्चालनमा रहेको जलविद्युत आयोजना हो र नदीको प्रवाह अनुसार चार घण्टा पीक क्षमता सहित संचालन हुने प्रकारको आयोजना हो। आयोजनाको पूर्ण वाणिज्यिक सञ्चालन सेप्टेम्बर १०, २०८० बाट सुरु भएको हो र यसको कुल लागत करिब ९० अर्ब १३९ करोड रुपैयाँ परेको थियो। आयोजना वर्षेनी २,२८१ गिगावाटघण्टा ऊर्जा उत्पादन गर्ने सम्झौतामा रहेको थियो भने सुख्खा सिजनमा यसको ऊर्जा मिश्रण करिब १३ प्रतिशत रहेको छ। वित्तीय वर्ष २०८०/८१ मा आयोजनाले करिब ८६ प्रतिशत सम्झौता अनुसार ऊर्जा उत्पादन गरेको छ, जुन विगत वर्षको ९२ प्रतिशतभन्दा घटेको हो।

आयोजनामा २०८१ असोज २८ मा आएको बाढीले ड्याम साइटमा क्षति पुर्याउँदा ८८ दिनसम्म सञ्चालन ठप्प भएको थियो। आंशिक सञ्चालन २४ पुस २०८१ बाट सुरु भए पनि पूर्ण सञ्चालन ३० असार २०८२ बाट मात्र पुनः सुरु भएको थियो। सञ्चालन बन्द भएको अवधिमा कम्पनीले करिब ८८८ करोड रुपैयाँ सम्भावित राजस्व गुमाएको जनाएको छ, जुन बीमाबाट फिर्ता पाउने दाबी गरिएको छ र अन्य आम्दानीको रूपमा लेखिएको छ तर हालसम्म प्राप्त भइसकेको छैन। यसैगरी सम्पत्तिमा आएको क्षतिको बीमा दाबी पनि अझै प्राप्त भएको छैन।

कम्पनीले दोलखा जिल्लामा २०।६६ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना पनि विकास गर्दै आएको छ। यो आयोजना नदी प्रवाह अनुसार संचालन हुने प्रकारको हुनेछ र यसको कुल लागत करिब ९ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ। नयाँ आयोजनाले २०।६६ मेगावाटको अलग आयोजना मात्र होइन, ४५६ मेगावाट आयोजनाको पानी आपूर्ति क्षेत्रसँग जोडिने संरचना समेत समावेश गर्नेछ, जसले ३१८ गिगावाटघण्टा अतिरिक्त ऊर्जा उत्पादन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*