एमजी जेडएस ईभीमा समस्या नै समस्या, ब्रेक प्रणालीमा त्रुटि!

२६ आश्विन २०८२, आईतवार १३:०८

काठमाडौँ। नेपाली बजारमा पारामाउण्ट मोटर्सले ल्याएको एमजी जेडएस ईभी एसयूभीमा गम्भीर समस्या देखिएको पाइएको छ । कम्पनीले प्रचारमा यो गाडी पूर्ण सुरक्षित र भरपर्दो रहेको भन्दै प्रचार गरे पनि प्रयोगकर्ताहरुले भोगेका अनुभवले त्यस्तो दावीलाई चुनौती दिइरहेको हो ।

अन्तर्राष्ट्रिय मिडियाले पनि यस गाडीमा देखिएका समस्याहरुको विषयमा रिपोर्ट गरेका छन्, जसमा ब्रेक प्रणाली, चार्जिङ, विद्युत प्रणाली, फिट–एण्ड–फिनिश, ध्वनि र भौतिक संरचना, र विश्वसनीयता सम्बन्धी गम्भीर चुनौतीहरु समेटिएका छन् । ब्रेक प्रणाली सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । बेलायतमा रिपोर्ट गरिएकै घटनामा, एक महिला पार्किङ क्षेत्रमा आफ्नो गाडी चलाउँदा ब्रेक अचानक काम नगरेको कारण गाडीले अघात पुर्‍याएको छ । यस दुर्घटनामा एयरब्याग समेत सक्रिय भएन र गाडीमा रहेका सुरक्षा उपकरणले काम गरेनन् ।

युएईमा गरिएको अध्ययनले पनि रिजेनरेटिभ ब्रेकिङको अत्यधिक प्रयोगले नियमित ब्रेक कम प्रयोग हुने, जसले रियर डिस्कमा असामयिक घर्षण उत्पन्न गर्ने र गाडीको सुरक्षा क्षमता घटाउने देखिएको छ । कार वर्कसप डट एईले यसलाई विश्लेषण गर्दै चेतावनी दिएको छ । नेपालजस्तो सडक अवस्था कमजोर र खाल्डाखुल्डी भएको देशमा यस्तो ब्रेक समस्या अझै जोखिमपूर्ण बन्नेछ ।

चार्जिङ प्रणालीमा पनि समस्या देखा परेका छन् । केही प्रयोगकर्ताले घरमा वा सार्वजनिक चार्जरमा चार्जिङ गर्दा प्रक्रिया बीचमा रोकिएर गाडी चार्ज गर्न नसक्ने अनुभव गरेका छन् । कतिपय अवस्थामा चार्जिङ छोटो समयमै बन्द हुने र पुनः चार्ज गर्न अन्य उपाय अपनाउनुपर्ने देखिएको छ । यसका साथै इलेक्ट्रोनिक कम्पोनेन्टमा पानी प्रवेश गरेर गाडी खराब हुने घटनासमेत रिपोर्ट भएका छन्।

विद्युत प्रणाली र सफ्टवेयरमा गडबडी पनि व्यापक देखिएको छ । उच्च भोल्टेज ब्याट्री, ब्याट्री व्यवस्थापन प्रणाली वा सर्किटमा समस्या आउँदा गाडीले कार्यक्षमता गुमाउने, प्रणाली विफल वा ब्याट्री क्षमता घटेको सन्देश देखाउने समस्या देखिएका छन् । अधिकांशले डीलरशिपमार्फत सफ्टवेयर अपडेट वा ब्याट्री साइकलिङ गरेर समाधान पाएका छन् भने केही गाडीधनीले समस्या दोहोरिएको गुनासो गरेका छन् ।

फिट–एण्ड–फिनिश र निर्माण गुणस्तरमा पनि चुनौती देखिएको छ । प्रयोगकर्ताले इन्फोटेनमेन्ट प्रणाली कमजोर रहेको गुनासो गरेका छन् र छोटो अवधिमा चेसिसमा जंग लाग्ने समस्या देखिएको छ । समुन्द्री क्षेत्रमा आधारित प्रयोगकर्ताले छोटो समयमा धातुमा जंग लागेको अनुभव गरेका छन् ।

ध्वनि र भौतिक संरचनामा पनि समस्या छ । परीक्षणकर्ताले क्याबिनमा तेज कम्पन र र्याटल आवाज सुन्ने बताएका छन्, विशेषगरी कम गतिमा वा खाल्डाखुल्डी सडकमा । नेपालजस्तो सडक अवस्थामा यो समस्या अझ विकराल बन्नेछ। चार्जिङ पोर्टको प्लास्टिक फ्ल्याप सजिलै फुट्ने समस्या गम्भीर देखिएको छ र यसको प्रतिस्थापन महँगो परेको छ।

विश्वसनीयताको हिसाबले पनि एमजी जेडएस ईभी कमजोर देखिएको छ । यस गाडीले इलेक्ट्रिक एसयूभी वर्गमा पाँचवटा सूचकांक मध्ये एक मात्र अंक पाएको छ । प्रयोगकर्ताले मुख्यतः इलेक्ट्रिकल प्रणाली, एयर–कन्डिसन, ब्याट्री, ब्रेक र गाडीको संरचनासम्बन्धी समस्या भोगेका छन् । ह्वाट कारको रिपोर्टले पनि प्रारम्भिक बिक्री वर्षमै धेरै गाडीधनीले समस्याको अनुभव गरेको र सन्तुष्टि कम भएको देखाएको छ। रेडिटमा प्रकाशित प्रतिक्रिया अनुसार ‘सस्तो मूल्यका कारण मात्र यो गाडी किन्नु बेकार छ, किनभने किनेलगत्तै अनेकन समस्याहरु आइलाग्छन् ।’

नेपालमा एमजी गाडी भित्र्याउने पारामाउण्ट मोटर्सको विगतको रेकर्ड चुनौतीपूर्ण रहेको छ । यस कम्पनीले पहिले ल्याएका ब्राण्डमा आफ्टर सेल्स सर्भिस संतोषजनक नदिएको, पार्ट्स महँगोमा उपलब्ध गराएको जस्ता समस्या भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*