अर्थ मन्त्रालयको निर्णयले भड्कायो आन्दोलन : २० दिनदेखि ठप्प सेबोन, बैठकले के निर्णय गर्ला?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरू २० दिनदेखि निरन्तर आन्दोलनमा छन् । अर्थ मन्त्रालयले आफूहरू खाईपाई आएको सेवा–सुविधा कटौती गरेको भन्दै सुरु गरिएको आन्दोलन तीन सातासम्म पनि रोकिएको छैन । बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र त्यसपछि पेन डाउन गर्दै सम्पूर्ण कामकारबाही बन्द गर्ने आन्दोलनकारी कर्मचारीहरूको कार्यक्रम जारी छ ।
आन्दोलनका कारण सेबोनको दैनिक काम ठप्प भएपछि समस्या समाधानका लागि आइतबार सञ्चालक समितिको बैठक बस्ने भएको छ । बोर्डमा रहेका एक अधिकारीका अनुसार आइतबारको बैठकले अर्थ मन्त्रालयले सेबोनका कर्मचारीका सन्दर्भमा दिएको निर्देशन र त्यसबाट उत्पन्न भएको आन्दोलनका विषयमा केन्द्रित भएर छलफल गर्नेछ ।
सेबोनका कर्मचारीले आन्दोलन जारी राख्दै नियमित काम सञ्चालन गर्ने प्रस्तावमा सहमति जनाएका छैनन् । यही कारणले पनि बोर्डलाई अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस विकल्प तयार गर्नुपर्ने बाध्यता देखिएको अधिकारीहरूले बताएका छन् ।
आइतबार हुने बोर्ड बैठकले हालै धितोपत्र बोर्डको सञ्चालक समितिमा नियुक्त भएका अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई औपचारिक स्वागत गर्नेछ । यसअघि महेश बराललाई हटाएर मन्त्रालयले खत्रीलाई सेबोनको सञ्चालकमा नियुक्त गरेको थियो । खत्रीको नियुक्तिपछि बस्ने यो पहिलो बैठकले आन्दोलित कर्मचारीहरूको समस्या समाधानका लागि प्राथमिकता दिने तयारी गरेको स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयले गत २०८२ साल भदौ ३१ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । मन्त्रालयको उक्त पत्र राजस्व सचिवस्तरीय निर्णयका आधारमा पठाइएको हो ।













