राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको सुन र रकम अझै भेटिएन

काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन ।
आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीकाअनुसार नयाँ बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो ।
यो घटनाबारे अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले अनुसन्धान गरिरहेको छ । परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराई अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको बताउँछन् ।
पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ ।
पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरीले बताएको छ ।
सुन र नगद गरी करिब साढे ३८ लाख लुटपाट भएको बताइए पनि पक्राउ परेकाहरुबाट सुन र नगद गरी ५र६ लाख रुपैयाँ बराबर मात्रै भेटिएको छ । बाँकी रकम, सुन कसले कहाँ पुर्यायो केही खुल्न सकेको छैन ।












