पुँजी बजारमा उतार-चढाव, माफियाको चलखेलको भुमरीमा लगानीकर्ता!

धनगढी । शेयर बजारमा आज उतारचढाव देखिएको छ । आइतबार राताम्य बनेको बजार सोमबार भने कहिले ह्वात्तै बढ्ने त कहिले झन् तल झर्ने क्रममा देखिएको छ । यस्तो अवस्थाले बजारमा सन्तुलनको अभाव र दिगोपनामा प्रश्न उठाएको छ ।
विशेषगरी साना लगानीकर्ता र बजारको प्रवृत्तिबारे पर्याप्त ज्ञान नभएकाहरूका लागि अहिलेको अवस्था अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ । बजार माथि जाने संकेत देखिँदा हतारमा लगानी गर्नेहरू क्षणभरमै घाटामा पर्ने गरेको उदाहरण हरेक दिन देखिन्छ । एकातिर केही ठूला लगानीकर्ता र दलाल समूहले बजारको मनोविज्ञानमा खेल्दै छोटो अवधिमा नाफा लिन खोज्ने रणनीति बनाइरहेका छन् भने, अर्कातिर सामान्य लगानीकर्ता त्यसैको चपेटामा परिरहेका छन् ।
नेपालको पूँजी बजारमा अहिले समग्र आर्थिक सूचकमा खासै सुधार नभएको अवस्थामा समेत अचानक कारोबार र सूचकमा हुने अस्वाभाविक हेरफेरले बजारमा ‘माफिया चलखेल’को आशंका थपिएको छ ।
अधिकांश सर्वसाधारण लगानीकर्ताले कम्पनीको मौलिक अवस्था, नाफा क्षमता, र उद्योगको दीर्घकालीन सम्भावना भन्दा पनि बजारको हल्ला र सोशल मिडिया ट्रेन्डको पछाडि लाग्ने गरेका छन् । यही कारण बजारमा साँचो मूल्यभन्दा बढी वा कम मूल्यांकन हुने प्रवृत्ति बढ्दै गएको छ ।
विशेषज्ञहरू भन्छन् ‘शेयर बजार खेल होइन, दीर्घकालीन लगानीको माध्यम हो । बजार कहिले पनि सीधा रेखामा बढ्दैन, त्यसैले मनोवैज्ञानिक रूपमा तयार भएर मात्र लगानी गर्नुपर्छ ।’













