नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

२७ आश्विन २०८२, सोमबार १३:०४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारले तोकेको स्तरभन्दा तल नगर्ने गरी लागू गर्न सबै सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजलाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसअघि पनि पत्राचार भइसकेको भए तापनि कतिपय संस्थामा कार्यान्वयन नभएको गुनासो आएपछि पुनः स्पष्ट निर्देशन जारी गरिएको हो।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। मन्त्रालयले नर्सिङ र अन्य स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता पाउने व्यवस्था गर्न समेत स्पष्ट निर्देशन दिएको छ।

साथै मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले कर्मचारीलाई करारमा राख्नु, ज्यालादारी कार्य गराउनु वा कर्मचारीको शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्नु नहुने व्यवस्था पनि लागू गर्न भनेको छ। पारिश्रमिक भुक्तानी बैंकिङ प्रणालीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था पनि मन्त्रालयले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*