वर्षातका कारण बन्द गरिएको मेलम्चीको पानी काठमाडौं ल्याइयो

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो ।
वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।
काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो ।
दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौं उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए।













