प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आएको छ।
कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता शेयरका लागि आवेदन नपरेपछि बाँकी बसेको थियो।
कम्पनीले सोही बाँकी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्र मार्फत् खरीदका लागि आह्वान गरेको हो। आवेदन दिंदा न्यूनतम १०० कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइनेछ।
यसका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइनेछ। यसमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, संघसंस्था लगायत इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्।














