ग्रामीण विकास र समाज लघुवित्त मर्ज, कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने

काडमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएका छन् भने आउँदो कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको लाइसेन्सप्राप्त कम्पनीद्वय आपसमा मर्ज भएपछि ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट कारोबार थाल्ने भएका हुन्।
ग्रामीण विकास लघुवित्तको कार्यालय बुटवल, रुपन्देहीमा रहेको छ भने समाज लघुवित्तको मलंगवा, सर्लाहीमा रहेको छ। मर्जपछि कम्पनीको प्रधान कार्यालय हाल ग्रामीण विकास लघुवित्त रहेको स्थानमा रहनेछ।
आउँदो कात्तिक २ गते प्रधान कार्यालयबाट एकीकृत कारोबार थाल्ने कम्पनीहरूले जानकारी दिएका छन्। कम्पनीहरूलाई राष्ट्र बैंकले असोज २३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो।
साथै दुवै कम्पनीको तथ्यांकलाई एउटै सफ्टवेयरमा मिलान गर्नुपर्ने भएकाले कात्तिक १ गते दुवै कम्पनीको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहनेछ।













