बीमा कम्पनीहरुले एडभान्समा दिन थाले दावी भुक्तानी, अग्रिम पैसा पाएपछि बीमित नै दंग

नबराज न्यौपाने
२८ आश्विन २०८२, मंगलवार १९:३०

काठमाडौं । बीमा गरेपछि प्रक्रिया पुगेपछि मात्रै बीमा कम्पनीले रकम भुक्तानी गर्दै आएकोमा पछिल्ला केही घटनाहरुमा बीमा कम्पनीहरुले एडभान्स दावी भुक्तानी समेत गर्न थालेका छन् ।

जेन जी आन्दोलनमा सबैभन्दा बढि क्षति भएको भाटभटेनी सुपरमार्केटलाई शिखर इन्स्योरेन्सले प्रारम्भिक मूल्याङ्कनको २५ प्रतिशत रकम भुक्तानी गरिसकेको छ । साथै थप २५ प्रतिशत बुधबारसम्ममा दिने तयारी भइरहेको सो कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले बीमापोष्टलाई बताए । त्यस्तै, आईजीआई प्रुडेन्सियलबाट पनि अग्रिम भुक्तानी बापत केही रकम प्राप्त भइसकेको भाटभटेनीका म्यानेजिङ डाइरेक्टर पान पौडेलले बीमापोष्टलाई जानकारी दिए । साथै भाटभटेनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट पनि अग्रिम भुक्तानी बापतको रकम पाइसकेको पुष्टि गरेको छ ।

अहिले भाटभटेनीले करिब एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी प्राप्त गरिसकेको छ । कम्पनीले सोही बीमाको अग्रिम भुक्तानी बापतको रकमले क्षति भएका शाखाहरु मर्मत गर्दै सञ्चालन गर्न थालिसकेको छ । जेन जी आन्दोलनमा क्षति भएका भौतिक संरचना पुननिर्माणमा बीमा कम्पनीहरुले दिएको अग्रिम भुक्तानीले महत्वपूर्ण भूमिका खेलेको कम्पनीले स्वीकार गरेको छ ।

पौडेलले भने, ‘केही बीमा कम्पनीले २५ प्रतिशत दिइसकेका छन्, अन्यले पनि दिँदै छन्, सबै बीमा कम्पनीहरुले ५० प्रतिशत अग्रिम भुक्तानी दिन्छौं भने समयसीमासहित प्रतिबद्धता जनाइरहेका छन् ।’
भाटभटेनी मात्रै नभएर नेको इन्स्योरेन्समा बीमा गरेको पोखराको होटल सरोवरले पनि अग्रिम भुक्तानी पाइसकेको छ । त्यस्तै, नेपाली कांग्रेसकी नेतृ आरजु राणाको मुख्य लगानी रहेको युलेन्स स्कूलले पनि केही रकम अग्रिम भुक्तानी पाइसकेको छ । त्यस्तै, बिनोद चौधरीको सिजी ग्रुपले समेत सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट अग्रिम भुक्तानी बापतको रकम लगेर पुननिर्माण सुरु गरिसकेको छ । अर्थात बीमा कम्पनीहरुबाट अग्रिम भुक्तानी प्राप्त गरेपछि आन्दोलनको पीडा र दुःखमा परेका बीमितहरुले राहत मात्रै महसुस गरेका छैनन्, खुशी समेत देखिएका छन् ।

जेन जी आन्दोलनमा सबैभन्दा धेरै क्षति व्यहोरेको भाटभटेनी सुपर मार्केट जलगाईएपछिको अवस्था ।

नेपालको निर्जीवन बीमा व्यवसाय अहिले विस्तारै मर्यादित र जिम्मेवार बन्दै जाँदा बीमा दावी भुक्तानीलाई अझै बैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यास अनुसारकै स्थानमा पुगिसकेको तथ्य अहिलेको जेन जी आन्दोलनमा चलाइएको अग्रिम दावी भुक्तानी अभियानले देखाइरहेको छ । बीमा दुःख पर्दाको साथी भने झै जेन जी आन्दोलनमा तोडफोड र आगजनीमा परेकाहरुले धमाधम अग्रिम रकम लिएर पुननिर्माण र पुनः सुचारु गर्न सहयोग पुग्नुले बीमा अब हातहातै दावी भुक्तानी पाइने सेवामा रुपान्तरण भएको मान्न सकिने अवस्थामा पुगेको बीमा विज्ञ डा. रविन्द्र घिमिरे बताउँछन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७६ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ । बीमा गरेको सम्पत्तिमा क्षति पुगेको अवस्थामा क्षतिको अनुमानित रकमको ५० प्रतिशत रकम तत्कालै अग्रिम भुक्तानी दिनसक्ने व्यवस्था अनुसार बीमा कम्पनीहरुले फटाफट अग्रिम भुक्तानी गरिरहेका हुन् । चर्चित व्यवसायी बिनोद चौधरीको सिजी ग्रुपले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट जेन जी आन्दोलनमा क्षति भएको सम्पत्तिको अग्रिम भुक्तानी बापत रकम प्राप्त गरिसकेको छ ।

हिजोसम्मको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ४० करोड रुपैयाँ बीमा दावी अग्रिम भुक्तानी गरेको छ । कम्पनीका अनुसार सम्पत्ति बीमामा मात्रै २८ करोड रुपैयाँ बीमा दावी बापत अग्रिम भुक्तानी गरिसकेको छ ।

आईजीआई प्रुडेन्सियलले ३० करोड ३० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ । कूल ३१ करोड पाँच लाख दावी भुक्तानी मध्ये ३० करोड रुपैयाँ अग्रिम भुक्तानी बापतको रकम पीडितलाई हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साढे चार करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ । कूल १२ करोड भुक्तानी मध्ये साढे चार करोड रुपैयाँ अग्रिम भुक्तानी बापत पीडितलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ ।

उता, नेको इन्स्योरेन्स कम्पनीले १२ करोड दावी भुक्तानी गरेको छ । सो मध्ये अधिकांश अग्रिम भुक्तानी रहेको कम्पनीले जनाएको छ । त्यस्तै, भारतीय बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय ओरियन्टल इन्स्योरेन्स कम्पनीले साढे पाँच लाख रुपैयाँ अग्रिूम भुक्तानी बापत रकम हस्तान्तरण गरेको छ । कम्पनीले हालसम्म एक करोड ६६ लाख बीमा दावी भुक्तानी गरेको छ ।

यी माथिका त उदाहरण मात्रै हुन्, जेन जी आन्दोलनमा बीमा दावी परेका सबै बीमितहरुलाई नेपालका १४ वटै बीमा कम्पनीहरुले अग्रिम भुक्तानी रकम दिइरहेका छन् । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले सबै बीमा कम्पनीहरुले अग्रिम दावी भुक्तानी दिइरहेको बताए । उनले भने, ‘बीमक संघले पनि बीमा दावी भुक्तानीमा सहजिकरण गरिरहेको छ, बीमा प्राधिकरणले पनि अग्रिम दावी भुक्तानी दिने बिषयलाई प्राथमिकतामा राख्न भनिरहेको छ, हामी सबै मिलेर बीमितलाई अग्रिम भुक्तानी दिएर राहत दिने प्रयास गरिरहेका छौं ।’

निर्जीवन बीमामा अग्रिम भुक्तानी सम्बन्धी व्यवस्थाले बीमाप्रति आम जनताको विश्वास बढ्ने बीमा विज्ञ डा. रविन्द्र घिमिरे बताउँछन् । बीमामा अग्रिम भुक्तानीको व्यवस्था नयाँ नभए पनि यस पटकको ठूलो क्षतिमा मानिसमा संसय थियो, अग्रिम भुक्तानीले नेपाली बीमा कम्पनीहरु परिपक्क र सक्षम रहेको पुष्टि गर्न सफल भएको घिमिरेको भनाई छ ।

‘कसैको घर जलेमा भोलिबाट नै बस्नलाई घर चाहिन्छ । पीडितलाई तत्काल राहत गर्ने उद्देश्यले बीमा गरिएको हुन्छ । बीमा दावी भुक्तानी लामो हुुन्छ । बीमामा अग्रिम भुक्तानी गर्ने व्यवस्थाले पीडितलाई राहत दिन्छ’ बीमा विज्ञ डा. घिमिरेले भने ।

विश्वभर नै बीमामा ५० प्रतिशत भुक्तानी दिने प्रचलन रहेको छ । ‘पछि ठहरे बमोजिम हुने गरी अग्रिम भुक्तानी गरिएका हुन्छ, बीमा विज्ञ डा. घिमिरेले अग्रिम भुक्तानीको प्रक्रियाबारे भने, पछि जति मूल्याङ्कन हुन्छ, सो रकममा अग्रिम भुक्तानी दिएको रकम कटाएर बाँकी हिसाब फस्र्यौट गर्ने गरिन्छ ।’

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यही असोज २३ गतेसम्ममा अग्रिम भुक्तानी र फाइनल भुक्तानी समेत गरी एक अर्ब ५८ करोड रुपैयाँ बीमितले प्राप्त गरिसकेका छन् । आजको मितिसम्म अग्रिम भुक्तानी मात्रै दुई अर्ब नाघिसकेको छ । तिहार अगाडिसम्म सबै कम्पनीहरुले ५० प्रतिशत अग्रिम भुक्तानी सम्पन्न गर्ने गरी तीव्र गतिमा काम गरिरहेका छन् । नेपाली निर्जीवन बीमा कम्पनीहरुले दशैंको विदा समेत काम गरेर महिना दिनभित्रैमा उल्लेख्य मात्रामा दावी भुक्तानी गराउन सफल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*