काठमाडौं जिल्ला प्रशासनमा आजदेखि राहदानी सेवा दुई ‘सिफ्ट’मा सञ्चालन

२९ आश्विन २०८२, बुधबार १०:०८

काठमाडौं । आगजनीका कारण केही समयदेखि अवरुद्ध रहँदै आएको राहदानी आवेदन सेवा आजदेखि पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा राहदानी आवेदन सेवा सञ्चालन हुने जनाएको छ।

कार्यालयका अनुसार प्रारम्भिक चरणमा सीमित आवेदन स्टेशनबाट सेवा सुरु गर्न लागिएको हो। इच्छुक सेवाग्राहीले आवेदनका लागि अघिल्लो दिन साँझ ५ बजे अनलाइन स्लट खुल्ने भएकाले त्यसैअनुसार आफ्नो समय निर्धारण गर्न सक्नेछन्।

गत भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोड हुँदा राहदानी सेवा स्थगित भएको थियो। सो घटनापछि सेवा अस्थायी रूपमा बन्द रहँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार बिहानको सिफ्ट ७ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।

यसअघि राहदानीका लागि आवेदन दिन सेवाग्राहीहरूले लामो समय कुर्नुपर्ने अवस्था रहेको थियो। दुई सिफ्टको व्यवस्थाले दैनिक आवेदन संख्या बढ्ने र सेवा सरल हुने कार्यालयको अपेक्षा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*