वासिङ्टनमा अर्थमन्त्री खनालको सक्रियता: अमेरिका, साउदी, जापान र आईएमएफसँग लगानी छलफल

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते विभिन्न अमेरिकी उच्च अधिकारी र दातृ निकायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
अर्थमन्त्री खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको व्यापार तथा लगानी प्रवर्द्धनका विषयमा छलफल गर्दै नेपाल ट्रेड प्रेफरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन्। त्यस अवसरमा उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्ने र लगानी अनुकूल वातावरण विस्तार गर्नुपर्ने विषयमा जोड दिएका थिए।
त्यसैगरी उनले अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि भेट गरी नेपाल–अमेरिका सम्बन्ध सुदृढ गर्नका साथै आपसी हितका विषयमा विचार विनिमय गरेका छन्।
अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। उनले नेपालमा पूर्वाधार, ऊर्जा र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै आगामी परियोजनामा दातृ निकायहरूको सहकार्यको अपेक्षा व्यक्त गरे। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाइ र जलविद्युत परियोजनामा लगानी निरन्तर रहने जानकारी दिएका छन्।
त्यस्तै, जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने विषयमा छलफल भएको थियो।
यता, अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग पनि भेट गरेका छन्। उक्त भेटमा कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रम को कार्यान्वयन निरन्तरता दिने विषयमा छलफल भएको थियो।
सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरूको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको थियो।













