माग घट्दै, ऋण दबाब बढ्दै: शालिमार सिमेन्ट वित्तीय संकटको किनारमा

काठमाडौँ । केहि वर्षअघि गुणस्तरहीन सिमेन्ट बजारमा ल्याएको भन्दै कारबाहीमा परेको नेपाल शालिमार सिमेन्टको वित्तीय अवस्था लगातार गिरावटमा रहेको छ । कम्पनीले गुणस्तरहीन सिमेन्ट बिक्री गरे यता व्यापार निरन्तर घट्दो क्रममा रहेको छ भने ऋणको भार अत्यधिक बढी रहेको हो ।
कम्पनीको वार्षिक ग्राइन्डिङ क्षमता ५४५,००० मेट्रिक टन भए तापनि यसको उत्पादन बिक्री र बजार हिस्सामा उल्लेखनीय गिरावट देखिएको छ । गुणस्तरको कमजोरी र कमजोर मार्केट रणनीतिका कारण कम्पनी संकटमा परेको हो ।
ग्राहकहरू गुणस्तरहीन सिमेन्ट पाउने डरले अब शालिमार ब्रान्डबाट सिमेन्ट खरिद गर्न हिचकिचाइरहेका छन् । यसले कम्पनीको बिक्री र ग्राहक विश्वासमा गम्भीर असर पारेको छ ।
कम्पनीको संचालन आम्दानी २०७८।७९ आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा, २०७९।०८० मा १ अर्ब ९ करोड ९० लाख मात्र आम्दानी हासिल भयो । २०८०।०८१ मा यो अझ घटेर ६२ करोड ९० लाखमा सीमित रह्यो । हालको २०८१।०८२ आर्थिक वर्षको अनुसार कम्पनीले केवल ९४ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
कम्पनीको लाभप्रदता स्थिति अझै गम्भीर छ। सञ्चालन पूर्व लाभदर २०७८।७९ मा २.९ प्रतिशत रहेकोमा, २०७९।०८० मा ६.६ प्रतिशतमा पुगे पनि, २०७९।०८० र २०८०।०८१ मा क्रमशः –२.९ प्रतिशत र –६.९ प्रतिशत पुगेको छ । २०८१।०८२ मा मात्र १ प्रतिशत लाभदर कायम भएको छ । यसले कम्पनीले आफ्नो लागत व्यवस्थापन र उत्पादनमा दक्षता कायम गर्न असफल भएको देखिएको हो ।
कम्पनीको कर्जा स्थिति पनि निकै नाजुक छ । कर्जा र ठोस निवल सम्पत्ति अनुपात २०७८।७९ मा ३.१ गुणा भए तापनि २०७९।०८० मा ४.४ गुणा पुगेको थियो । २०७९।०८० मा यो अनुपात १०.७ गुणा पुगेको छ । २०८०।०८१ र २०८१।०८२ मा यो अनुपात नकारात्मक देखिन्छ, जसको अर्थ कम्पनीको सम्पत्ति भन्दा बढी ऋण भार बोकेको छ । बाह्य दायित्व र निवल सम्पत्ति अनुपात पनि यही प्रवृत्तिलाई पुष्टि गरेको छ । २०७८।७९ मा चार गुणा रहेको यो अनुपात २०७९।०८० मा ५.१ गुणा पुगेको थियो भने २०७९।०८० मा ११.४ गुणा पुगेको थियो र २०८०।०८१ र २०८१।०८२ मा नकारात्मक भएको छ ।
कम्पनीको कर्जासम्बन्धी प्रदर्शन र ब्याज भुक्तानी क्षमता पनि असन्तोषजनक छ । सञ्चालन पूर्व लाभलाई कर्जा अनुपातले तुलना गर्दा, २०७८।७९ मा १९.१ गुणा भए तापनि २०७९।०८० मा १०.५ गुणा पुगेको थियो । २०७९।०८० र २०८०।०८१ मा यो नकारात्मक क्षेत्रमा पुगेको छ। २०८१।०८२ मा यो १५३.७ गुणा भएको देखिन्छ, जुन अस्थायी सुधार वा दुरस्थ रणनीतिको संकेत होइन, बरु वित्तीय अस्थिरता र कर्जाको उच्च भारलाई देखाएको छ ।
ब्याज भुक्तानी क्षमता अनुपात २०७८।७९ मा ०.६ गुणा रहेकोमा, २०७९।०८० मा ०.९ गुणा पुगेको थियो। तर २०७९।०८० र २०८०।०८१ मा नकारात्मक मूल्यमा पुगेको छ र २०८१।०८२ मा मात्र ०.१ गुणा रहेको छ । यसले कम्पनीले आफ्ना ऋण दायित्वलाई नियमित रूपमा भुक्तानी गर्न पनि असफल भएको देखिएको छ ।
कम्पनीको नगद प्रवाह र ऋण भुक्तानी क्षमता पनि कमजोर छ । ऋण भुक्तानी क्षमताको अनुपात २०७८।७९ मा ०.४ गुणा रहेकोमा, २०७९।०८० मा ०.६ गुणा पुगेको थियो। तर २०७९।०८० र २०८०।०८१ मा यो ०.३ र ०.१ गुणा मात्र रहेको छ । २०८१।०८२ मा पनि ०.१ गुणा मात्र रहेकाले कम्पनीले आफ्नो कर्जा भुक्तानीलाई सहज रूपमा व्यवस्थापन गर्न सकिरहेको छैन ।
कामकाजी पूँजीको स्थिति पनि चिन्ताजनक छ । संचालन आम्दानीको अनुपातमा कामकाजी पूँजी २०७८।७९ मा ३१ प्रतिशत रहेकोमा २०७९।०८० मा ३९ प्रतिशत पुगेको थियो। २०७९।०८० र २०८०।०८१ मा क्रमशः ५३ प्रतिशत र ६३ प्रतिशत पुगेको छ । कम्पनीको पूँजी बजारमा बाँधिएको छ र यसले दैनिकी सञ्चालन र उत्पादन खर्च व्यवस्थापनमा समस्या ल्याएको छ । २०८१।०८२ मा यो प्रतिशत ३१ प्रतिशतमा घटेको छ ।
कम्पनीको उत्पादन र ब्रान्ड व्यवस्थापन पनि आर्थिक संकटमा असर गर्दैछ । नेपाल शालिमार सिमेन्टले सात सातवटा ब्रान्ड अन्तर्गत साधारण पोर्टल्याण्ड सिमेन्ट र पोज्जोलाना पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आठ ब्रान्ड अन्तर्गत पोर्टल्याण्ड स्ल्याग सिमेन्ट उत्पादन गर्दछ । तर वित्तीय विवरणले यी उत्पादनहरू बजारमा पर्याप्त माग सिर्जना गर्न असफल भएका छन् ।













