नैतिकता दिवसमा नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा, इमानदारी र पारदर्शी हुने

काठमाडौं । विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले इमानदारी र पारदर्शिताका साथ काम गर्ने प्रतिज्ञा गरेका छन्। बैंकका अनुसार कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका हुन्।
बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवर्द्धन गर्ने अठोट सहित प्रतिबद्धता लिएका हुन्। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पूर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बीच प्रतिज्ञा गराएका छन्।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए।
नेपाल एसबिआई बैंक विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ्ग, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।












