डिजिटल भुक्तानीमा उछाल: दुई महिनामा कारोबार ६ खर्ब नाघ्यो

काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यु–आर कोड भुक्तानीमार्फत गरिएको कारोबार कुल ६ खर्ब ५७ अर्ब ७० करोड पुगेको छ।
विशेषगरी, डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८ लाख कारोबारमार्फत रु ८७ अर्ब ३२ करोड भुक्तानी गरेका छन्। मोबाइल बैंकिङमा ६ करोड २५ लाख कारोबारबाट रु ४ खर्ब ६८ अर्ब १५ करोड भुक्तानी भएको छ भने क्यु–आर कोड भुक्तानीमार्फत ४ करोड १० लाख कारोबारबाट रु १ खर्ब १ अर्ब २३ करोड बराबरको कारोबार भएको तथ्यांकले देखाएको छ।
विशेषज्ञहरूका अनुसार, डिजिटल भुक्तानीको यो वृद्धिले नगद प्रयोग घटाउन, वित्तीय प्रणाली पारदर्शी बनाउन र आर्थिक गतिविधिमा सहजता ल्याउन ठूलो योगदान पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवाहरूलाई अझ सजिलो बनाउनुपर्नेमा जोड दिइएको छ।












