पूर्वीचौकी गाउँपालिकामा भाडभैलो: ४७ बुँदे मागसहित युवाहरुको तालाबन्दी, अध्यक्षमाथि अनियमितताको प्रश्न

दिपक बिष्ट
२९ आश्विन २०८२, बुधबार १६:३२

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिकामा आज भाडभैलो मच्चिएको छ । पालिका क्षेत्रभित्र सक्रिय युवा समाज र जेन-जी समूहले ४७ बुँदे माग राख्दै गाउँपालिकासँग गरेको छलफल निष्कर्षविहीन भएपछि कार्यालयमै तालाबन्दी भएको हो ।

युवाहरुले असोज २८ गते गाउँपालिकालाई प्रतिवेदनसहित ४७ बुँदे मागपत्र पेश गरेको थियो । ती मागमध्ये आर्थिक पारदर्शिता, जनप्रतिनिधिको जवाफदेहिता, विकास निर्माणका काममा देखिएका अनियमितता र स्थानीय युवाका रोजगारीका अवसरसम्बन्धी विषयहरू प्रमुख रूपमा समावेश छन् ।

मागपत्रबारे छलफल गर्न आज गाउँपालिकाका जनप्रतिनिधि र युवा समाजका प्रतिनिधिबीच करिब २ देखि ३ घण्टासम्म बैठक भएको थियो । छलफलका क्रममा युवाहरूमार्फत जनप्रतिनिधिमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाइएपछि बैठक वातावरण तातेको थियो । पालिका अध्यक्ष राम प्रसाद उपाध्यायमाथि युवाहरुले अनियमितताको प्रश्न समेत उठाएका हुन् । छलफलमा केहि कांग्रेस निकट ब्यक्ति आएपछि केहि झडप स्थति समेत आएको हो ।

युवाहरुले पालिका जवाफदेही हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेपछि परिस्थिति तनावपूर्ण बन्दै गएको थियो। अन्ततः निष्कर्ष ननिस्किएपछि युवाहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

युवा समाजले पूर्वी चौकी गाउँपालिकाको समीक्षा तथा सुझाव कार्यक्रममा आर्थिक अनियमितता, योजना कार्यान्वयनको कमजोरी र पारदर्शिताको अभावबारे गम्भीर प्रश्नहरू उठेका छन् । गाउँपालिकामा विगत केही वर्षयता सञ्चालन भएका विकास योजना, सेवा वितरण र राहत–पुनर्निर्माण कार्यक्रमहरूमा जनसन्तुष्टि घट्दै गएको भन्दै स्थानीय प्रतिनिधि तथा सरोकारवाला पक्षहरूले शंका व्यक्त गरेका छन् । बैठकमा गाउँपालिकाका लागि विनियोजित करोडौँ रुपैयाँको खर्च विवरण अस्पष्ट रहेको, योजनामा १० प्रतिशत भेरिएसन बिना अनुमति गरिएको र राहत रकम वितरणसमेत अनियमित रूपमा भएको आरोप लगाइएको छ ।

प्रस्तुत प्रतिवेदनमा विशेष गरी सिंचाइ, खानेपानी र जलवायु अनुकूलन कार्यक्रमहरूमा योजना अनुसार काम नगरी बिल भुक्तानी गरिएको, निर्माण भएका पोखरी प्रयोगविहीन रहेको र फर्निचर खरिददेखि गाडी मर्मतसम्मका खर्चहरूमा पारदर्शिता नदेखिएको उल्लेख गरिएको छ । गाउँपालिकाबाट खरिद गरिएका बस र सवारीसाधनहरू निजी प्रयोजनमा प्रयोग भएको, गाडी भाडा र भ्रमण शीर्षकमा लाखौँ रुपैयाँ खर्च गरिएको र बिल विवरण नखुलाइएको विषयमा पनि आलोचना गरिएको छ ।

मानव संसाधन व्यवस्थापन र योजना वितरणमा नातागोता, राजनीतिक प्रभाव र स्वार्थगत निर्णय हाबी भएको निष्कर्ष निकालिएको छ । सूचना प्रविधि र इन्टरनेट सेवामा समेत सुधार नआएको, विद्यालय र स्वास्थ्य चौकीमा सेवा अभाव रहेको र औषधि खरिद प्रक्रियामा समेत कम गुणस्तरका सामग्री ल्याइएका गुनासोहरू पनि सार्वजनिक भएका छन् ।

सोहि विवादकाबीच पूर्वीचौकी गाउँपालिका कर्मचारीहरुले आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिका र मातहतका वडा कार्यालयहरूको दैनिक कामकाज अर्को सूचना नआएसम्म स्थगन गरिएको जानकारी दिएको छ।

गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वीचौकी गाउँपालिका र पूर्वीचौकी युवा समाजका प्रतिनिधिबीच दिनभर छलफल भए पनि निष्कर्ष ननिस्किएको र मिति २०८२ असोज २९ गते पनि अन्तिम सहमति हुने अवस्था नदेखिएपछि दैनिक कामकाज गर्न असहज अवस्था सिर्जना भएको छ।’

त्यसैले गाउँपालिकाको सम्पूर्ण दैनिक सेवा तथा प्रशासनिक काम अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगन गरिएको उल्लेख गरिएको छ ।

पालिका अध्यक्ष राम प्रसाद उपाध्यायले भने छलफलमा युवा समाजका केहि प्रतिनिधि मात्रै बस्ने भनेपनि सो कुरा नमान्दा छलफल हुन नसकेको बताए । उनले भने, ‘युवा समाजले विभिन्न माग राखेका छन् । हामी पनि छलफल गर्ने तयार छौं । तर, उनीहरुले पुरै समूहसँग छलफल गरौ भन्छन् । त्यो हुन सकेन ।’

युवाहरुले बुझाएको मागहरुका कुनै संस्थाको नाम उल्लेख नभएको हुँदा आवश्यक समन्वय हुन नसकेको अध्यक्षको भनाई छ । ‘माग पत्र बुझाएका छन् । तर, त्यसमा कुनै संस्था र नेतृत्वको नाम उल्लेख छैन । अध्यक्ष को ? अरु प्रतिनिधि को केहि थाहा छैन । हामीले ७ जनालाई छलफलका लागि बोलाएपनि उनीहरु भने सबै समूहसँग छलफल हुनु परो भन्छन् । सोहि कारण पनि छलफल हुन सकेन ।’ उपाध्यायले भने ।

यता, युवाहरु भने पुरै समूहसँग पालिका छलफल गर्ने डराएको बताएका छन् । एक जना सम्बन्धीत युवाले भने, ‘हामी युवा समाजका मात्रै मान्छे छैनौ । कतिपय जेन जी साथीहरु छन् । स्वतन्त्र ब्यक्ति छन् । स्थानिय छन् । सबैसँग छलफल गर्ने किन नसकेको ? हाम्रो माग पुरा नभएसम्म ताला लाग्छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*