हेक्का रहोस्, यो सरकार क्रान्तिपछि बनेको होः गृहमन्त्री अर्याल
२९ आश्विन २०८२, बुधबार १६:५२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जेन–जी क्रान्तिपछि बनेको बताएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले हेक्का रहोस, यो सरकार क्रान्तिपछि बनेको भन्दै असंवैधानिक भन्नेलाई ख्याल गर्न बताएका हुन् ।
सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ छ, ‘‘तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’
विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरीत सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनले बताए ।
व्यक्तिगत रुपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने उनले बताए ।













