एनएमबी बैंकको ३० वर्षे यात्रा: दिगो विकास, पारदर्शिता र जिम्मेवार बैंकिङ्गतर्फको दृढ पाइला

२९ आश्विन २०८२, बुधबार १७:१९

काठमाडौं । एनएमबी बैंक लिमिटेड आज आफ्नो ३०औं वार्षिकोत्सव मनाइरहेको छ । तीन दशक अघि आर्थिक पहुँचका सीमित साधनबीच सुरुवात गरेको एनएमबिको यात्रा आज नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित भइ अघि बढी रहेको हो।

सन् २००८ मा नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त गरेपछि औपचारिक रुपमा संचालनमा आएको यस बैंकले तीन दशकभन्दा बढी समयदेखि नेपाली वित्तीय क्षेत्रमा आफ्नो गहिरो उपस्थिति जनाइरहेको छ । दिगो विकास, पारदर्शिता र जिम्मेवार बैंकिङ्गको सिद्धान्तमा अडिग रहँदै एनएमबी बैंक समृद्ध नेपालको यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ ।

एनएमबी बैंकले सन् २०१६ मा नेदरल्यान्ड्सको विकास बैंक ‘एफएमओ’ सँग संयुक्त लगानी सम्झौता गरेपछि अन्तर्राष्ट्रिय विश्वसनीयता र व्यवसायिक पारदर्शिताको नयाँ आयाम सिर्जना गरेको हो । एफएमओसँगको सहकार्यपछि एफएमओ बैंकको सबैभन्दा ठूलो शेयरधनी बनेको छ । यस सहकार्यले बैंकलाई वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनमा अग्रणी स्थानमा पु-याउनुका साथै नवीकरणीय उर्जा र कृषि व्यवसाय प्रवद्र्धनमा अग्रपंक्तिमा उभ्याएको छ ।

बैंकले जिम्मेवार बैंकिङ्ग र दिगो वित्तीय प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठा आर्जन गरेको छ । यही प्रतिबद्धता र उत्कृष्ट व्यवस्थापनको कारण बैंकलाई सन् २०१७, २०१८, २०२० र २०२१ मा लगातार ‘बैंक अफ दि इयर’को सम्मान प्रदान गरिएको हो । सन् २०२१ मा भने एनएमबी बैंकले पहिलोपटक सम्पूर्ण एसिया महादेशका बैंकहरुलाई पछि पार्दै ‘बैंक अफ दि इयर एशिया २०२१’ को उपाधि प्राप्त गरेको थियो, जुन नेपालकै इतिहासमा अभूतपूर्व उपलब्धि बनेको छ ।

सामाजिक उत्तरदायित्वलाई आर्थिक सफलतासँग सन्तुलन गर्दै अघि बढिरहेको बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई आफ्नो संस्थागत नीति र व्यवहारमा उतारेको छ । ‘जेसि’ योजना (लैङ्गिक समानता र सामाजिक समावेशीकरण योजना) मार्फत बैंकले सबैका लागि समान अवसर र पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । यस योजनाले महिलासहित विपन्न, अपाङ्गता भएका व्यक्ति, तथा भौगोलिक दृष्टिले पछाडि परेका समुदायका व्यक्तिहरूलाई वित्तीय सेवामा सहज पहुँच दिलाउने लक्ष्य लिएको छ ।

‘जेसि’ योजनाको माध्यमबाट बैंकले चार प्रमुख प्राथमिकतामा काम गरिरहेको छ — कार्यस्थलमा विविधता, समावेशी बैंकिङ्ग वातावरण, तथ्याङ्कमा आधारित शासन प्रणाली र नेतृत्वको प्रतिबद्धता । यस योजनाले बैंकको भित्री संस्कृतिमा विविधता र समावेशी भावना जगाएर सामाजिक तथा व्यवसायिक दुवै मूल्य सिर्जना गर्ने लक्ष्य लिएको छ ।

एनएमबी बैंकले “जिम्मेवार बैंकिङ्गद्वारा समुदाय निर्माण” भन्ने दृष्टिकोणका साथ आफ्नो कार्यनीति अघि बढाएको छ । बैंकले ग्राहक र सरोकारवालाको विश्वासका आधारमा आर्थिक सुरक्षादेखि दिगो सामाजिक–आर्थिक विकाससम्मको भूमिकालाई सुदृढ बनाउँदै आएको छ। वातावरणीय र सामाजिक उत्तरदायित्वप्रति सचेत रहँदै, बैंकले वास्तविक अर्थतन्त्रमा योगदान पु-याउने वित्तीय उत्पादन तथा सेवाहरू प्रदान गर्दै आएको छ।

बैंकले ग्राहक सुविधा र सन्तुष्टिलाई सर्वोच्च प्राथमिकता दिँदै ‘प्राथमिकता बैंकिङ्ग सेवा’ संचालनमा ल्याएको छ । यस अन्तर्गत बैंकले आफ्ना विशिष्ट ग्राहकका लागि व्यक्तिगत परामर्श, लगानी योजना, वित्तीय सल्लाह र जीवनशैली सम्बन्धी विशेष सुविधा उपलब्ध गराउँछ । काठमाडौंको कान्तिपथ, महाराजगञ्ज र कुमारीपाटीमा रहेका विशेष लाउन्जहरूबाट ग्राहकले सहज, द्रुत र गोपनीय सेवा प्राप्त गर्न सक्छन्। देशभरका सबै शाखाबाट पनि प्राथमिकता ग्राहकले समान सुविधा पाउने व्यवस्था गरिएको छ ।

बैंकको सफल नेतृत्वमा अध्यक्ष मनोज कुमार गोयल, एफएमओका प्रतिनिधि शर्मिला हार्डी प्रकाश, कर्मचारी सञ्चय कोषका प्रतिनिधि ठाकुरजंग थापा र सार्वजनिक समूहका प्रतिनिधिहरू उत्कम भलोन, हरीशचन्द्र सुवेदी, सिरिशकुमार मुरार्का तथा स्वतन्त्र निर्देशक बन्दा पाठक रहेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको नेतृत्वमा बैंकले उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै दिगो बैंकिङ्ग अभ्यासलाई सुदृढ बनाएको छ।

बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष मनोज कुमार गोयलले शुभकामना सन्देश दिंदै भने, “एनएमबी बैंक दिगो विकास, पारदर्शिता र जिम्मेवार बैंकिङ्गको सिद्धान्तमा दृढ विश्वासका साथ समृद्ध नेपालको लक्ष्यतर्फ अघि बढिरहेको छ। हाम्रो यात्रामा विश्वास राख्ने सम्पूर्ण ग्राहक, शेयरधनी र कर्मचारी परिवारप्रति हामी आभारी छौं। आगामी दिनमा पनि उत्कृष्ट सेवा र प्रविधिसँगै दिगो विकल्पहरू प्रदान गर्ने वाचा गर्दछौं।”

तीस वर्षको यात्रामा एनएमबी बैंकले वित्तीय प्रणालीमा आधुनिकता र स्थायित्व ल्याएको छ । दिगो विकासका सिद्धान्त, सामाजिक उत्तरदायित्व र पारदर्शी व्यवस्थापनका कारण बैंक आज पनि आफ्ना सबै सरोकारवालाका लागि भरोसाको प्रतिमूर्ति बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*