मन्त्री कुलमान घिसिङद्वारा जलविद्युत पिपिएमा प्रतिस्पर्धी दर तोक्न विद्युत नियमन आयोगलाई निर्देशन

२९ आश्विन २०८२, बुधबार १७:३९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)मा प्रतिस्पर्धी दर निर्धारण गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् ।

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित विद्युत थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन आवश्यक रहेको औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए ।

मन्त्री घिसिङले आयोगका पदाधिकारीलाई निर्देशन दिंदै भने, ‘सौर्य ऊर्जामा प्रतिस्पर्धी आधार दर लागू भएपछि पिपिए प्रक्रिया प्रतिस्पर्धी र पारदर्शी बनेको छ । त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न प्रतिस्पर्धी आधार दर निर्धारण गर्न, प्रक्रियालाई स्तरीय बनाउन र बोलपत्र सम्बन्धी कागजात तयार गर्न आयोग तत्पर हुनुपर्छ ।’

नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जालाई प्रतिस्पर्धी प्रक्रियाबाट खरिद गर्दै आएको छ, जसका लागि अधिकतम आधार दर प्रति युनिट ५.९४ रुपैयाँ तोकिएको छ । जलविद्युत आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि क्रमशः ४.८० र ८.४० रुपैयाँ प्रतियुनिट निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*