वर्षौं अलपत्र बबई सिँचाइ : काम नगर्ने अमन कन्स्ट्रक्सनको ठेक्का तोडियो

काठमाडौं । वर्षौँदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पारेका ठेकेदारविरुद्ध सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाले कम्पनीसँग आर्थिक वर्ष २०७७/७८ मा नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतलगायतका कामका लागि ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताअनुसारको प्रगति न्यून रहँदा आयोजनाको काम ठप्प भएको छ । आयोजनाले दिएको विवरणअनुसार, सम्झौता गरिएका छ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य, एउटाको ३० र अर्कोको ५५ प्रतिशत मात्र रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने, ढिलाइ गर्ने र आयोजना रुग्ण बनाउने प्रवृत्तिलाई अन्त्य गर्न मातहतका निकायलाई ठेक्का तोड्ने निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार आयोजना कार्यालयले पटकपटक सूचना दिए पनि कम्पनीले सम्झौताबमोजिमको काम सुरु नगरी बीचैमा छोडेको र म्याद सकिँदासमेत काममा कुनै चासो नदेखाएको जनाएको छ ।
आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कानुनी कारबाही अघि बढाउने तयारी थालेको छ । साथै, ठेक्का तोड्नु नपर्ने ठोस कारण भएमा प्रमाणसहित १५ दिनभित्र सम्बन्धित कम्पनीका आधिकारिक प्रतिनिधिलाई आयोजनामा उपस्थित हुन सूचना जारी गरिएको छ ।
पेस गरिएका कारण नियमसंगत, भरपर्दाे वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद ऐनअनुसार कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
सिँचाइ विभागअन्तर्गत रहेका राष्ट्रिय गौरवका आयोजना—भेरी बबई, सुनकोशी मरिण बहुउद्देश्यीय लगायतका २५ आयोजनाका ठेक्का रुग्ण अवस्थामा रहेको विभागले जनाएको छ । तीमध्ये छ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।













