बीमा पोलिसी सरेण्डरदर घट्यो, दुई महिनामा साढे दुई अर्ब फिर्ता

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ९.१८ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको भदौ महिनासम्ममा सरेण्डरमार्फत साढे २ अर्ब रुपैयाँ बाहिरिएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको दुई महिनामै जीवन बीमा कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.१८ प्रतिशत कम हो । गत आवको भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको भदौ महिनासम्म १९ हजार ७४१ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको भदौ महिनासम्म भने १५ हजार ८९८ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १९.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ५.०७ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा बीमालेख नविकरण नगरिएको रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
यता व्यतित बीमालेखको संख्या पनि २.७९ प्रतिशत बढेर १२ लाख १३ हजार ५६२ वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ८० हजार ६१६ रहेका थिए ।
जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो ।
केही समययता देशमा उत्पन्न भएको राजनीतिक घटनाक्रम र लाखौं नागरिकहरु सहकारीमा डुबेसँगै बीमितहरुले जीवन बीमाको प्रिमियम पनि सोही सरह लगेर भाग्नै भन्दै पोलिसी सरेण्डर गर्ने चलन नै चलाएको थियो । तर, बीमा कम्पनी र अभिकर्ताहरुको उच्च सक्रियताले पोलिसी सरेण्डरदर घट्न पुगेको छ ।













