भारतमा हुन्डाईले ५ वर्षमा ४५ हजार करोड लगानी, सस्तो र नयाँ ईभी मोडल ल्याउने तयारी

३० आश्विन २०८२, बिहीबार ११:४७

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटरले भारतमा आगामी पाँच वर्षभित्र ४५ हजार करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ मोडलहरूको उत्पादन, विद्युतीय सवारी (ईभी) विस्तार र त्यसका लागि आवश्यक ईकोसिस्टम निर्माणमा सो लगानी गर्ने योजना सार्वजनिक गरेको हो ।

हुन्डाईले आफ्नो प्रिमियम ब्रान्ड ‘जेनिसस’ लाई भारतमै उत्पादनमा ल्याउने तयारीसहित सन् २०३० सम्म ईभी क्षेत्रमा आक्रामक रूपमा नयाँ मोडलहरू बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले सन् २०२६ सम्ममा सब–फोर मिटर सेग्मेन्टमा नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारीसमेत जनाएको छ, जसको अधिकांश पार्ट्स भारतमै उत्पादन गरिनेछ ।

हुन्डाईले आफ्नो नयाँ सानो एसयूभीलाई ‘इन्डिया ईभी एक्सेसेबल फर अल’ भन्ने नारासहित बजारमा उतार्ने तयारी गरेको छ । यो सवारी भारतकै उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्थानीय डिजाइन र विकासमार्फत तयार पारिने कम्पनीले जनाएको छ । कम्पनीको रणनीतिअनुसार सन् २०३० सम्ममा २६ नयाँ मोडलहरू बजारमा ल्याइनेछ, जसमा इन्धनचालित र विद्युतीय दुवै प्रकारका सवारी समावेश हुनेछन् ।

हुन्डाईको नयाँ सानो ईभीको लम्बाइ ४ मिटर हुनेछ, जसले टाटा नेक्सन ईभी, महिन्द्रा थ्रीएक्सओ ईभी लगायतका लोकप्रिय मोडलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । कम्पनीले उक्त एसयूभीलाई दुईवटा ब्याट्री अप्सनमा उपलब्ध गराउने तयारी गरेको भए पनि ब्याट्री क्षमताको विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

यस नयाँ एसयूभीमा लेवल–२ एडास फिचर रहने बताइएको छ । यसमार्फत सवारी सञ्चालन थप सुरक्षित र सहज हुनेछ भने अटोनोमस पार्किङ सिस्टम जस्ता उच्च प्रविधियुक्त फिचरहरू पनि समावेश हुने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*