शेयर धितो कर्जा बढ्दा पनि सुस्त पुँजी बजार, राष्ट्र बैंकको नीतिगत सुधार प्रभावहीन

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढाउन गर्दै आएको प्रयास अझै सफल हुन सकेको छैन । बजारमा मन्दीको अवस्थालाई सुधार्ने उद्देश्यले राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सबै सीमा हटाएको छ । राष्ट्र बैंकले लगानीकर्तालाई सहजता मिलाउने उद्देश्यले अन्य केही प्रावधान पनि परिवर्तन गरेको छ ।
अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले लगानीका लागि खरिद गरेको सेयर कम्तीमा एक वर्षसम्म होल्ड गर्नुपर्ने व्यवस्था हटाएर ६ महिनामा झारिएको छ । त्यस्तै, लगानी गरेको सेयरमध्ये वर्षदिनभित्र २० प्रतिशत मात्र बिक्री गर्न पाउने प्रावधान पनि हटाइएको छ । यी सबै उपायहरू राष्ट्र बैंकले पूँजी बजारमा नयाँ ऊर्जा थप्ने आशयले ल्याएको हो । तर बजारले ती नीतिहरूलाई प्रत्यक्ष रूपमा स्वीकार गरेको देखिँदैन ।
नयाँ नीतिहरू लागू भए पनि शेयर बजार राताम्य अवस्थामै छ । सूचक निरन्तर घट्दो क्रममा रहँदा लगानीकर्ताहरूमा निराशा बढ्दो छ । राष्ट्र बैंकको नियमनपछि बैंकहरूले शेयर धितो कर्जाको मात्रा बढाएको देखिए पनि त्यो रकम शेयर खरिदमा भन्दा पनि अन्य क्षेत्रमा प्रयोग भइरहेको आशंका बजार विश्लेषकहरूले गर्न थालेका छन् । राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय धितो कर्जाको परिमाण बढेको तर शेयर बजार त्यसको अनुपातमा चलायमान नदेखिएको स्पष्ट गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन् । यो रकम चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३.५ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिमा मात्रै झण्डै ५ अर्ब रुपैयाँ बराबरको नयाँ कर्जा थपिएको छ ।
गत असार मसान्तमा यस्तो कर्जाको परिमाण १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ थियो । अर्थात साउन र भदौ महिनामा ४ अर्ब ९० करोड ७० लाख रुपैयाँले थप कर्जा विस्तार भएको हो । गत वर्षको यही अवधिमा शेयर धितो कर्जा १०.७ प्रतिशतले बढेको थियो, जसको तुलना गर्दा यो वर्षको वृद्धिदर उल्लेख्य रूपमा कम देखिएको छ ।
भदौसम्मका तथ्यांक हेर्दा १ करोड रुपैयाँभन्दा माथिका धितो कर्जाको परिमाण १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन गत असारको तुलनामा ३.४ प्रतिशत अर्थात् ३ अर्ब ३९ करोड ६१ लाख रुपैयाँले बढी हो । असारसम्म १ करोड माथिको कर्जा ९८ अर्ब ९२ करोड रुपैयाँ थियो ।
यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मका शेयर धितो कर्जामा पनि वृद्धि भएको देखिन्छ । यो वर्गमा दुई महिनाको अवधिमा कर्जा ११.७ प्रतिशतले बढेर १७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मात्रै यस दायरामा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह भएको छ ।
तर २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको धितो कर्जा १.७ प्रतिशतले घटेर १७ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै २५ लाख रुपैयाँसम्मको साना धितो कर्जा पनि ०.८ प्रतिशतले घट्दै ८ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ । यसले ठूलो लगानी क्षमताका व्यक्तिहरू बढी कर्जा लिन सकिरहेका छन् भने साना लगानीकर्ताहरू धितो कर्जा लिन हिचकिचाइरहेका छन् ।
राष्ट्र बैंकले लगानी सीमाको बन्देज हटाएर ठूलो लगानीकर्तालाई सहज वातावरण सिर्जना गरिदिए पनि बजारको मन्दीले साना लगानीकर्ताको मनोबल घटाएको छ । बजार सूचक घटिरहेकाले नयाँ लगानी प्रवेश गर्न नचाहनेहरूको संख्या बढेको छ ।
भदौ महिनामा मात्र शेयर बजारको कारोबार मापक सूचक ४.१६ प्रतिशतले घटेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक मनोविज्ञान फैलिएको छ । धेरै लगानीकर्ताहरूले हालको नीतिगत परिवर्तनलाई तत्कालीन राहतका रूपमा हेर्न नसक्ने बताएका छन् । राष्ट्र बैंकको सहज नीतिले बैंकहरूलाई शेयर धितो कर्जा प्रवाह गर्न प्रेरित गरे पनि बजारमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देखिएको छैन ।
जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक अस्थिरता र अन्तिम सरकारविरुद्ध अदालतमा रिट परेसँगै बजारको मनोबल कमजोर पारेको विश्लेषण गरिएको छ । यस्तो अवस्थामा नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।













