चार कम्पनीको साधारणसभा भोलि बस्दै, कुन–कुनले दिन्छन् लाभांश?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा भोलि असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्।
नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११ बजेदेखि शुरू हुँदैछ। यस कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। यस कम्पनीले असोज १२ गतेदेखि बुक क्लोज गरिसकेको छ।
त्यसैगरी मञ्जुश्री फाइनान्स लिमिटेडको १८औं वार्षिक साधारणसभा भोलि नयाँबानेश्वरस्थित थापागाउँ व्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। यस कम्पनीले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। अन्य उपयुक्त कम्पनीसँग मर्जरमा जान वा वैदेशिक रणनीति साझेदारीमा जान ढोका खोल्न लागेको यस कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ।
त्यस्तै ओरियण्टल होटल्स लिमिटेडको २८औं वार्षिक साधारणसभा भोलि जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्दैछ। शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले १ बराबर ०.२६६३ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको छ। यस कम्पनीले असोज २ गतेदेखि बुक क्लोज गरिसकेको छ।
त्यसैगरी स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९औं वार्षिक साधारणसभा भोलि सुकेधारास्थित सेलिब्रेसन हाइट्समा बिहान ११ बजदेखि शुरू हुँदैछ। लाभांश प्रस्ताव नगरेको यस कम्पनीले एक स्वतन्त्र सञ्चालकको नियुक्ति र ४ सञ्चालकको निर्वाचन गर्नेछ। यस कम्पनीले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ।













