‘उज्यालो दिपावली सुरक्षित बनाऔं’ : नेपाल विद्युत प्राधिकरणको सावधानी अपनाउन आग्रह

३१ आश्विन २०८२, शुक्रबार ११:२७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा विद्युतीय सजावट गर्दा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार पर्वको बेला घर तथा कार्यालयलाई झिलिमिली बत्तीले सजाउने क्रममा विद्युतका तार, पोल र अन्य संरचनामा लापरबाहीपूर्वक बत्ती जडान गर्दा हरेक वर्ष जनधनको क्षति हुने घटना दोहोरिइरहेको छ । यस वर्षको दिपावली र छठ पर्व हर्षोल्लासका साथ मनाउने क्रममा यस्ता दुर्घटनाबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

प्राधिकरणले सार्वजनिक सूचनामार्फत् झिलिमिली बत्ती जडान गर्दा विद्युतका पोल, टावर, स्टे र तार जस्ता संरचनामा नछुने गरी सावधानीपूर्वक जडान गर्न आग्रह गरेको छ । साथै, वितरण प्रणाली वा सडक बत्तीको लाइनमा सोझै हुकिङ गरी बत्ती जडान नगर्न चेतावनी दिएको छ ।

त्यस्ता अवैध जडान देखिएमा तत्काल नजिकको विद्युत प्राधिकरणको कार्यालयमा जानकारी दिन समेत आग्रह गरिएको छ । तोकिएको मापदण्ड विपरीत वितरण वा प्रसारण लाइन मुनि धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि संरचना निर्माण नगर्न पनि प्राधिकरणले सुझाएको छ ।

त्यस्तै, विद्युत तार लत्रिएको वा चुँडिएको देखिएमा, इन्सुलेटर वा अन्य उपकरणमा क्षति पुगेको ख्याल आएमा, वा बाँस, लहरा तथा रुखका हाँगाले लाइन छोएको देखिएमा तुरुन्तै नजिकको नेपाल विद्युत प्राधिकरण कार्यालयमा खबर गर्न भनिएको छ ।

प्राधिकरणले सबैलाई सर्तक रहँदै सुरक्षित र उज्यालो दिपावली तथा छठ पर्व मनाउन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*