तिहारमै सात दिन सेवा बन्द गर्ने हिमालयन बैंकको निर्णय, हजारौं ग्राहक सास्तीमा

३१ आश्विन २०८२, शुक्रबार १२:२०

काठमाडौं । देशभर तिहारको तयारी चलिरहेको बेला हिमालयन बैंकका ग्राहक भने बैंकिङ अवरोधका कारण सास्तीमा पर्ने भएका छन् । बैंकले कात्तिक ३ गतेदेखि १० गतेसम्म सबै बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने घोषणा गरेपछि ग्राहकहरू निराश बनेका छन् ।

बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भन्दै सो अवधिमा सम्पूर्ण शाखा र अनलाइन बैंकिङ सेवा बन्द गर्ने जनाएको छ । बैंकका अनुसार सफ्टवेयर प्रणाली अद्यावधिक गर्दा विभिन्न प्राविधिक प्रक्रिया अपनाउनुपर्ने भएकाले उक्त अवधिमा कुनै पनि बैंकिङ कारोबार गर्न नसकिने छ ।

बैंकका एटीएम र कार्ड (डेबिट–क्रेडिट) सेवा भने सञ्चालनमा रहने भनिए पनि, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, र काउण्टर सेवाहरू सात दिनसम्म पूर्ण रूपमा बन्द हुने भएकाले हजारौं ग्राहक प्रभावित हुने निश्चित छ ।

यो निर्णयको समयले पनि धेरैको ध्यान खिचेको छ । कारण, कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा र १० गते छठ बिदा भएकाले यो अवधिमा बैंकिङ आवश्यकता झन् बढी हुने समय हो । अन्य बैंकहरू कात्तिक ९ गतेदेखि सञ्चालनमा आउने भए पनि हिमालयन बैंक भने १० गतेसम्म बन्द रहने भएको छ ।

ग्राहकहरूले बैंकको यस्तो निर्णयलाई ‘असजिलो र गैरजिम्मेवार’ बताउँदै सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । तिहारको बेला घर फर्कने, नगद कारोबार गर्ने र भुक्तानी मिलाउने समयमै बैंकले सम्पूर्ण सेवा बन्द गर्नु ग्राहकको हितविपरीत रहेको उनीहरूको भनाइ छ ।

साधारण कारोबारदेखि ठूलो व्यापारिक भुक्तानीसम्म बैंकिङ प्रणालीमा निर्भर ग्राहकहरू अहिले वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् । तिहार जस्तो ठूलो पर्वको मुखमै सेवा अवरुद्ध हुँदा ग्राहकले आवश्यक कारोबार, भुक्तानी र निकासीका लागि अन्य बैंक वा एटीएममा निर्भर रहनुपर्ने भएको छ । यस्तो अवस्थामा हिमालयन बैंकका स्थायी ग्राहकहरूलाई मात्र होइन व्यापारिक साझेदार र वित्तीय कारोबारसँग जोडिएका अन्य पक्षहरूलाई पनि असुविधा हुने निश्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*