गुम्दै शेयर लगानीकर्ताको अर्बौं लगानीः नियामकको नीतिले पनि सुधारेन मनोबल, मार्केट अनिश्चित बाटोमा!

काठमाडौँ। यो साता नेपाली शेयर बजार राताम्य बनेको छ। पाँच दिनको कारोवारमा सोमबार मात्र सुधार देखिए पनि बाँकी चार दिन बजार घट्ने क्रममा रह्यो। नेप्से परिसूचक यस साता ९४.९९ अंकले घटेर २४८७.१७ बिन्दुमा आइपुगेको छ। दशैंपछिका लगातार गिरावटपछि बजार एक वर्षयताकै न्यूनतम बिन्दुमा पुगेको हो। साता अन्तिम कारोवार बिहीबार नेप्से १८.४० अंक (०.७३ प्रतिशत) ले घटेर २४८७.१३ बिन्दुमा बन्द भएको छ।
२०८१ असार अन्त्यतिर एमाले र कांग्रेसको गठबन्धन सरकार गठन भएपछि शेयर बजार बढेर ३० हजार बिन्दु पार गरेको थियो। त्यसपछि बजार उतारचढावमा रहँदै आएको छ। विगत एक वर्षदेखि नेप्से २५०० देखि ३००० बिन्दुको सीमाभित्र रहँदै आएकोमा बिहीबार २५०० को सिमाभन्दा तल झरेको छ। बजार हाल ओभर-सोल्ड जोन नजिक मुख्य सपोर्ट बिन्दुमा पुगेको छ। अघिल्लो दुईपटक यही स्तरमा बजारले सपोर्ट बनाएर फर्केको तथ्यलाई आधार मान्दा, आगामी कारोवारमा अल्पकालिन लगानीकर्ताहरू सक्रिय हुन सक्ने र २४६०–२४८० बिन्दुबाट युटर्नको सम्भावना देखिन्छ।
तर, बजारमा कारोवार निरन्तर घट्दो क्रममा छ। ३२०० बिन्दु माथि जाने अपेक्षासहित शेयर खरिद गरेका लगानीकर्ताहरू अहिले घाटामा परेका छन्। २८००–२९०० बिन्दुमा खरिद गरेको लगानीको मूल्य घट्दा मनोबल कमजोर बनेको छ। जेन जी आन्दोलनले उत्पन्न गरेको राजनीतिक अस्थिरताले पनि बजार मनोबलमा नकारात्मक प्रभाव पारेको छ। अन्तिम सरकारका विरुद्ध प्रतिनिधि सभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा दर्जनौं रिट दायर भएका छन्, जसले लगानीकर्तामा डरको वातारण सिर्जना गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले बजार सुधारका लागि कार्यदल गठन गरेका थिए। कार्यदलको प्रतिवेदन कार्यान्वयनमा पुगेको भए पनि लगानीकर्ताहरूले अहिलेसम्म यसको प्रभाव महसुस गर्न सकेका छैनन्। केन्द्रिय बैंकले बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जामा सीमा हटाउने र दोस्रो बजारमा लगानी सजिलो बनाउने निर्णयहरू गरे पनि तत्काल बजारमा स्थायित्व ल्याउन कठिन देखिन्छ।
लगानीकर्ताहरूले अर्थमन्त्री खनालले दिएको निर्देशन तुरुन्त लागू गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन्। यदि कार्यान्वयन नभए, उनीहरूले बोर्डका अध्यक्षको राजीनामा र बोर्ड खारेजीको मागसहित कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। लगानीकर्ताहरूले सिडिएससी निर्देशिका स्वीकृत गरी दोहोरो आईजीन तुरुन्त लागू गर्नुपर्ने, बजार घट्दा ५ प्रतिशत र बढ्दा १० प्रतिशत सर्किट ब्रेक लागू गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी, हाल शेयर कर्जाको मार्जिन अनुपात ७०/३० बाट ८०/२० कायम गर्नुपर्ने, वित्तीय संस्थाहरूमा लगाइएका कर्जामा कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर कर्जामा लगाउने व्यवस्था समयसापेक्ष नभएको भन्दै यसको खारेजी गर्नुपर्ने माग गरिएको छ। बजारमा लगानीकर्ताको विश्वास घटाउने र अनावश्यक अस्वस्थता सिर्जना गर्ने राईट र आइपीओ तुरुन्त रोकी उचित मूल्याङ्कन र रिक्स/रिवार्ड विश्लेषणका आधारमा मात्र अनुमोदन दिने व्यवस्था मिलाउन पनि लगानीकर्ताले दबाब दिएका छन्।
साधारण सभा तोकिएको समयमा नगर्ने कम्पनीहरूलाई कडा कारबाही गर्नुपर्ने, धितोपत्र बोर्ड र नेप्से कर्मचारीहरूको आन्दोलनको अनुचित लाभ उठाउने ब्रोकरलाई सुक्ष्म निगरानीमा राखी दोषीलाई तुरुन्त कारबाही गर्नुपर्ने पनि लगानीकर्ताहरूको माग हो।
हालको गिरावटमा सबैभन्दा बढी प्रभाव प्रत्यक्ष रूपमा लगानीकर्ताको मनोबलमा देखिन्छ। सुधारका लागि नीतिगत सुधार मात्र होइन लगानीकर्तामा विश्वास कायम राख्न पारदर्शी र समयमै कार्यान्वयन आवश्यक छ।
राजनीतिक अस्थिरता, कानुनी विवाद र बजार व्यवस्थापनबीचको तनावले शेयर बजारमा अनिश्चितता बढाएको छ।













