दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १६ अर्बः ६ कम्पनी अर्ब क्लबमा, कुनको आंकडा कस्तो ?

३१ आश्विन २०८२, शुक्रबार १४:५१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकले साढे १६ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउन र भदौमा १६ अर्ब ५९ करोड ८७ लाख ४० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को साउन र भदौको तुलनामा भने ६.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दुई महिनामा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा १० बैंकको नाफा घटेको छ भने १० बैंकको नाफामा सुधार देखिएको छ ।

साउनमा सर्वाधिक नाफा आर्जन गर्नेमा क्रमशः ग्लोबल आइएमई बैंक अघि रहेको छ । यसअवधिमा ग्लोबलको नाफा ३.९७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

दोस्रो नम्बरमा रहेको नबिल बैंकको १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २०.०९ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.५१ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा सिद्धार्थ बैंक र एनएनबि बैंक नाफा वृद्धिमा आक्रामक देखिएका छन् । सिद्धार्थको नाफा ४०.१८ प्रतिशतले बढेर ८४ करोड ९० लाख रुपैयाँ र एनएनबि बैंकको ३२ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमामा कुमारी बैंकको नाफा २.६० प्रतिशतले घटेर १ अर्ब ५ करोड ६८ लाख र प्राइम बैंकको ७.३९ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँमा पुगेको छ ।

दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड४१ लाख, एभरेष्ट बैंकले ९१ करोड २८लाख, आरबिबिले ८८ करोड ५८ लाख, नेपाल बैंकले ८४ करोड, सानिमा बैंकले ७२ करोड, प्रभु बैंकले ६७ करोड, कृषि विकास बैंकले ५८ करोड, सिटिजन्स बैंकले ५५ करोड, स्टान्र्डड चार्टड बैंकले ५३ करोड, एनआईसी एशिया बैंकले ४९ करोड, माछापुच्छ्रे बैंकले ४८ करोड, हिमालयन बैंकले ३७ करोड र नेपाल एसबिआई बैंकले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*