सानिमा बैंक र भगवती हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिंदै

२ कार्तिक २०८२, आईतवार ०७:५६

काठमाडौं । सानिमा बैंक लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा आज एकैदिन बस्दैछ। कम्पनीहरूले लाभांश पारित गर्ने सहितका एजेण्डा बोकेर साधारणसभा गर्न लागेका हुन्।

सानिमा बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसका लागि भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१औं वार्षिक साधारणसभा शुरू हुँदैछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असोज २६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

भगवति हाइड्रोपावरले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि पोखरास्थित आव्या क्लबमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा शुरू हुँदैछ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी जारी पूँजी वृद्धि गर्ने, सञ्चालकमा नियुक्ति हुन कम्तीमा १०० कित्ता शेयर लिएको हुनुपर्ने र यसका लागि तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसको आधारमा असोज २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*