जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, एक लाख ९० हजार रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले सल्यान र नवलपरासी पूर्वमा १८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ९० हजार ५८५ रुपैयाँ बरामद गरेको छ।
प्रहरीका अुनसार सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएर गएको टोलीले उक्त जुवाखालबाट १ लाख ७ हजार ६२५ रुपैयाँ नगद र ११ बुक तास बरामद गरेको छ।
त्यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ सर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको टोलीले उक्त जुवाखालबाट ८२ हजार ९६० रुपैयाँ बरामद गरेको छ।













