विराटनगरमा नक्कली भारतीय नोटसहित २ जना बिहारी युवक पक्राउ
२ कार्तिक २०८२, आईतवार १४:३१

काठमाडौं । प्रहरीले विराटनगर बसपार्कबाट नक्कली भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद रजा रहेका छन्।
भारतको जोगवनी नाकाबाट सिटी सफारीमार्फत् नेपाल आएका उनीहरूले सफारी चालकलाई २०० रुपैयाँको नक्कली नोट दिएपछि प्रहरीसम्म खबर पुगेको थियो।
प्रहरीले उनीहरूको शरीर खानतलासी गर्ने क्रममा २०० दरका १८ थान र ५०० दरको १ थान गरी कुल ४ हजार १०० दरका नक्कली भारतीय नोट बरामद भएको छ।
उनीहरूको साथबाट फेला परेको नक्कली नोट सामान्य व्यक्तिलाई छुट्याउन कठिन हुने खालको रहेको र दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।











