काठमाडौं महानगरद्वारा ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पुर्याएको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए ।
९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो ।
यो काम सक्नु पर्ने अवधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहार पर्वको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको, महाशाखा प्रमुख नेपालीले जानकारी दिए।
‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ’ महाशाखा प्रमुख नेपालीले भने , ‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन् । यी पोलमा ८ वटा बत्ती हुनेछन् ।’ यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ ।













