हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान करिब ३ बजेर ५० मिनेटमा दुबईबाट आएको इमिरेट्सको कार्गो फ्लाइट नम्बर ईके ९७८८ रनवेबाट चिप्लिदै समुद्रमा पुगेको हो।
दुर्घटनाग्रस्त विमान टर्किश कार्गो एअरलाइन ‘एयर एसीटी’ को स्वामित्वमा रहेको बोइङ ७४७–४८१ मोडेलको थियो। विमानमा रहेका चारै जना चालक दलका सदस्यहरूको सकुशल उद्धार गरिएको हङकङ विमानस्थल प्रशासनले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमान ल्यान्डिङ गर्ने क्रममा ग्राउण्ड सर्भिसका एक वाहनसँग ठक्कर खाँदा उक्त वाहन समुद्रमा खसेको थियो। सो वाहनमा रहेका दुई जना ग्राउण्ड स्टाफको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
दुर्घटनापछि विमानस्थलको उत्तरी रनवे अस्थायी रूपमा बन्द गरिएको छ भने अन्य रनवेहरू सञ्चालनमा रहेका छन्। उद्धारकर्मीहरूले विमान र ग्राउण्ड सर्भिस वाहनका अवशेष समुद्रबाट निकाल्ने काम जारी राखेका छन्।













