निर्वाचन, भ्रष्टाचारविरुद्ध कदम र जेनजी घटनाको छानबिन नै हाम्रो प्राथमिक जिम्मेवारी होः प्रधानमन्त्री कार्की

३ कार्तिक २०८२, सोमबार १०:५९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेनजी पुस्ताको जायज माग नै सरकारको प्राथमिक जिम्मेवारी भएको बताएकी छिन्। प्रधानमन्त्री कार्कीले तिहार, म्हं पुजा, नेपाल संवतको नयाँ वर्ष र छठ लगायतका पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएकी हुन्।

कार्कीले भनिन्, ‘कठिन परिस्थितमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो। तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔं।’

उनले ६ महीनाभित्र स्थिर सरकार दिने प्रतिज्ञा गर्दै निर्वाचनको वातावरण बनाउन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपील समेत गरेकी छिन्। ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन र हिंसाको निष्पक्ष छानबिन गर्ने हाम्रो प्राथमिक जिम्मेवारी हो।’ उनले भनिन्।

उनले भदौको महान् जेनजी आन्दोलनले भरोसा र दायित्व थपेको उल्लेख गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने र सुशासनको प्रत्याभूति गराउने बाचा समेत गरेकी छिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*